बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको बुधबार उदघाटन गरिएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहका विच त्रिपिटक (पाठ) को उदघाटन गर्नुभएको हो ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो ।



उदघाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखापरेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताउनुभयो । उहाँले बुद्धको शिक्षाहरुलाई पुनर्ताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने बताउनुभयो ।
बुद्धजन्मस्थल लुम्बिीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धका उपदेशहरुलाई विश्वभर फैलाउन त्रिपिटक पाठ समरोह फलदायी हुने बताउनुभयो । उहाँले त्रिपिटक पाठ बुद्धका शिक्षाहरुको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठूलो संख्यामा गर्दै जानुपर्ने बताउनुभयो ।

यस्तै उदघाटन समरोहमा आठौं संघनायक नेपालका भिक्षु बोधिसेन महास्थविरले लुम्बिनी आउदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामको सट्टा बुद्धभूमि राख्दा त्यसले विश्वभर सन्देश जाने बताउनुभयो ।
त्रिपिटक पाठ वाचन समारोहमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, राजेश शाक्य विभिन्न देशबाट आएका भिक्षु, लामा, उपासक उपासिका, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





