सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले राजतन्त्र फर्कने संभावना नरहेको दावी गर्नुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सिएर अहिलेको व्यवस्थामाथि प्रश्न गरेको प्रवक्ता तथा संचार मन्त्री गुरुङको टिप्पणी छ ।
शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले राजाले देश बचाउन नसक्ने तर्क गर्नुभयो ।
मन्त्री गुरुङले भन्नुभयो – ‘यो मुलुक उदार लोकतन्त्र भएको हो तर त्यसको पनि सीमा हुन्छ । अरू मुलुकमा भएको भए ४०÷५० वर्षसम्म मुलुकमा शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई त्यो शासन उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नुपर्ने हो । तीनको सम्पति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ ।



उहाँले पूर्व राजालाई स–सम्मान नागार्जुन दरबारमा राखेको उल्लेख गर्दै आज उनै चाहिँ त्यो व्यवस्था र दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर हास्यास्पद कुरा गर्नु राजाले आफ्नो हैसियत बिर्सिएको हो भन्नुभयो ।
उहाँले राजावादी दलहरूलाई आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले कसरी देशको रक्षा गर्छ ? भन्दै प्रश्न गर्नुभयो ।
प्रवक्ता गुरुङले एउटा कुलमा जन्मिँदैमा देशको शासन गर्न पाउने व्यवस्था कुनै हालतमा नफर्किने दाबी गर्नुभयो ।
यसैगरी उहाँले सरकारले निर्धारित समयभित्रै भूमि अध्यादेश पारित गर्ने दाबी गर्नुभयो । पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भूमि अध्यादेशबारे सत्तारुढ दलहरूबीच छलफल चलिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– सरकारले ६ वटा अध्यादेश जारी गरेको थियो । जारी भएको अध्यादेश सांसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ५ वटा प्रतिनिधि र राष्ट्रिय सभाबाट पारित भइसकेका छन् । एउटा बाँकी छ । ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ ।
मन्त्ती गुरुङले भूमि अध्यादेशमा सत्तारुढ दलहरूबिच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक रहेको उल्लेख गर्दै भूमि अध्यादेश पारित गर्न जसपा नेपालले अस्वीकार गरेपछि अहिले होल्डमा राखिएको जिकिर गर्नुभयो ।




