नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट नेतृत्वको खोजी गरिएको छ । बुटवलमा बुटवल उद्योग वाणिज्य संघ र झापाको दमक उद्योग वाणिज्य संघविच भेटघाट तथा छलफल भएको छ । संघको संस्थागत भ्रमणमा आएको दमक उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग वाणिज्य संघमा स्वागत गर्नुको साथै दुई संघ बिच छलफल भएको हो ।
छलफलमा दुबै संघले महासंघमा जिल्ला नगरबाट नेतृत्व खोजी गरेका छन् । उनीहरुले जिल्ला नगर उद्योग वाणिज्य संघहरु एक ठाउँमा हुने हो भने महासंघको नेतृत्व जिल्ला नगरको हातमा आउन कुनै समस्या नहुने विचार व्यक्त गरेका छन् । दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले संस्थागत रुपमा हुने भ्रमणले एक आपसमा सिकाई आदान प्रदान र संस्थागत सम्बन्ध विकासमा मद्धत पुग्ने बताउनु भयो ।



कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले महासंघले उद्योगी व्यवसायिका समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै नेपाल ग्रे लिष्टमा परेको र यसलाई सुधार गर्न नसके व्लाक लिष्टमा पर्ने र त्यसले झनै समस्या हुने भनाई राख्नुभयो ।




