वि.सं २०११ देखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलमा पछिल्ला दुई महिनादेखि उडान रोकिएको छ । नेपाल वायु सेवा निगमको जहाज २०८१ पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो ।
नेपाल एयरलाइन्स तुलसीपुरका प्रतिनिधि बलबहादुर सुनारका अनुसार निगमका साना दुईवटा जहाज बिग्रिएका कारण उडान बन्द भएको छ । उहाँका अनुसार आगामी १५ दिनभित्रै जहाज मर्मत भई पुनः नियमित उडान सञ्चालनमा आउने बताउनुभयो ।



टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएको थियो । २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो ।
पछिल्लो समय नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान गर्दै आएकामा हाल दुई महिनादेखि पूर्ण रूपमा उडान बन्द रहेको छ । टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
ठुला जहाजका लागि एक हजार २५० देखि एक हजार ५५० मिटर धावनमार्गको लम्बाइ र ३० देखि ५० मिटर चौडाइ आवश्यक पर्ने डिपिआरमा उल्लेख छ । धावनमार्गको क्षेत्रफल ३९ बिघा रहेको छ ।




