मासु व्यवसायी संघ नेपाल रुपन्देहीको २० औं स्थापना दिवस तथा १४ औं बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देशभित्रै उत्पादन भएको मासुजन्य पदार्थको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भारतबाट कुखुरा र माछाको अवैध आयात हुँदा यहाँका व्यवसायी मारमा परेको भन्दै सबै मिलेर अवैध आयात रोक्नुपर्नेमा जोड दिनुभयो ।
आधुनिक पशु बधशाला सञ्चालनका लागि उपमहानगरपालिका लचिलो बन्न तयार रहेको उहाँको भनाई छ ।
मासुजन्य व्यवसायलाई व्यवस्थित गर्न स्पष्ट खाका ल्याउन आग्रह गर्दै उहाँले मासु व्यवसायीहरुका समस्या समाधानका लागि बुटवल उपमहानगर छलफलका लागि तयार रहेको बताउनुभयो ।
उहाँले मासु व्यवसायीहरुले उपभोक्ताको हितमा ध्यान दिन आग्रह गर्दै नगर प्रमुख पाण्डेयले साना मासु व्यवसायीहरुलाई संरक्षण गर्न उपमहानगरपालिकाले ३० लाख बजेट छुट्टाएको बताउनुभयो ।
कार्यक्रममा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना र कार्यक्रमहरुबारे जानकारी गराउँदै खुला सीमानाबाट अवैधरुपमा भित्राइने कुखुरा, खसी बोका र माछालाई नियन्त्रण गर्न नसक्दा यहाँका मासु व्यवसायी र मासुजन्य कृषि उत्पादनमा लागेका किसानहरु मारमा परेको बताउनुभयो ।



कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा मासु व्यवसायी संघ रुपन्देहीका कानुनी सल्लाहकार यमलाल खनाल, बुटवल उपमहानगरपालिका पशुपंक्षी शाखा प्रमुख झविन्द्र बन्जाडे, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक, कुखुरा पालक किसान संघ रुपन्देहीका अध्यक्ष ऋषिराम काफ्ले, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराई, संघका प्रेस सल्लाहकार नविन घिमिरे, घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।
संघका उपाध्यक्ष गोपाल क्षेत्रीको स्वागत तथा महासचिव थानिश्वर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




