नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधानका लागि लोकतान्त्रिक स्थायित्व चाहिएको बताउनु भएको छ ।
संघीय राजधानी काठमाण्डौंमा बुधबार भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्ने जिकिर गर्नुभयो ।
उहाले भन्नुभयो– ‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर, समस्या समाधानका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । यी वैद्य र झाँक्रीले शल्यक्रिया गर्ने सामथ्र्य राख्दैनन् ।
भट्टराईले तीनवटा टाउकाले आफूलाई छोटे राजाजस्तो बनाएको चर्चा गर्दै संविधान जारी भएपछिको ९ वर्षमा ११ सरकार परिवर्तन भएकोले अस्थीरता बढेको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो– संविधान जारी भएको ९ वर्षमा ११ सरकार परिवर्तन भएको छ । समस्याको हलका लागि लोकतान्त्रिक स्थायित्व चाहियो । एउटा सरकारले कम्तीमा ५ वर्ष, १० वर्ष एउटा नीति बनाएर लागू गराउन सकोस् । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान ढिला गर्नु भएन ।’



उहाँले तीनवटा टाउकाले पालैपालो सरकार चलाइरहेको र सरकारबाट बाहिरिने बित्तिकै जनतामा गएर सबै बिग्रियो, सबै सकियो भनेर रणभुल्ल पार्ने गरेको उल्लेख गर्नुभयो ।
उहाँको भनाई छ– ‘तीनवटा टाउका मिलेर पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा बस्दा जनतालाई समृद्धि आयो, सुख–सयल आयो भन्छन्, सरकारबाट बाहिरिएपछि खत्तम भयो भनेर कराउँछन् ।
उहाँले यहाँका तीन दलका शीर्ष नेतालाई छिमेकीले पनि बेलाबेला उचाल्ने गरेको दावी गर्नुभयो ।




