विहिवारदेखि सुरु हुने यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गते बिहीवारदेखि देशभर एकैसाथ शुरू हुने एसईईको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।
यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।



परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । यस पटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाण्डौ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यस वर्षको एसईई चैत ७ गतेदेखि शुरू भएर १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
यता एसईईमा यो वर्ष रुपन्देहीबाट सामुदायिक र संस्थागत गरी २२ हजार ९ सय ७५ विद्यार्थी सहभागी हुँदैछन् ।
चैत्र ७ गतेदेखि हुने परीक्षामा रुपन्देहीका १७६ सामुदायिक र १७० संस्थागत गरी कुल ३४६ विद्यालयका विद्यार्थी सहभागी हुने भएका हुन् । यो संख्या गत वर्षभन्दा ३ हजार २८० ले बढी हो । गत वर्ष रुपन्देहीबाट १९ हजार ६९५ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
शिक्षा विकास तथा समन्वय एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार साधारणतर्फ २२ हजार ४५७ र प्राविधिकतर्फ ५१८ विद्यार्थी यो वर्ष एसईईमा सहभागी हुँदैछन् । जसमा साधारणतर्फ नियमितमा १७ हजार ५१८ र ग्रेडवृद्धिका लागि ४ हजार ९३९ परीक्षार्थी छन् ।
यस्तै प्राविधिकतर्फ ४०३ जना नियमित हुन् भने बाँकी ११५ जना ग्रेडवृद्धिका लागि सहभागी हुँदैछन् । साधारणतर्फ ग्रेडवृद्धिका लागि सहभागी हुन लागेका २८४ जना गत वर्षका रहेका उनले जानकारी दिए । साधारणतर्फ ५८ र प्राविधिकतर्फ २ वटा परीक्षाकेन्द्र निर्धारण गरिएको छ ।




