सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काएको घटनाबारे प्रतिनिधि सभामा सांसदहरूले प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने सांसदहरूले संविधानमा जातीय विभेद र छुवाछुतलाई दण्डनीय उल्लेख भएको तर पनि विभेदका घटनाहरू भइरहेको भन्दै प्रश्न उठाएका हुन् ।
त्यो घटनामा संलग्न भनिएका गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुले माग गरेका छन्
सत्तारूढ नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा (एमाले) की सम्झना थपलिया, जनमत पार्टीका अब्दुल खान, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का रणेन्द्र बराली, रास्वपा सांसद मनिष झा, सन्तोष परियार, अशोककुमार चौधरी, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रश्न उठाउनु भएको हो ।
सांसद जीवन परियारले ‘औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम भएको भन्दै घटनाको भत्र्सना गर्नुभयो ।



त्यसैगरी एमाले सांसद सम्झना थपलियाले यसबारेमा छानबिन समिति बनाउन माग गर्नुभयो ।
दलितको घर भत्काएर गणतन्त्रको जग बलियो हुन्छ ? उहाँले प्रश्न गर्नुभयो । उहाँले घटनाको छानबिन गर्न शक्तिशाली आयोग बनाउन सरकारलाई निर्देशन दिन सभामुखसंग आग्रह समेत गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल माओवादीका केन्द्रका सांसद रणेन्द्र बरालीले जातीय विभेदका घटनामा सरकारले न्याय नदिएको गुनासो गर्नुभयो ।
सिरहाको दीपक मल्लिक डोमको घर भत्काइएको मात्र नभई दलितले टेकेको धर्तीसमेत अपवित्र हुन्छ भनेर माटोसमेत खनेर फालिएको उहाँले बताउनुभयो ।
रास्वपाकै सांसद अशोककुमार चौधरीले त्यो घटनाले संवैधानिक मूल्य र सामाजिक न्यायको मर्ममा गम्भीर आगाध पु¥याएको बताउनुभयो ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले घटनाले संविधानलाई गिज्याएको बताउँदै घटनाको छानबिन गरी पीडकलाई सजाय दिनुपर्ने माग गर्नुभयो ।




