भर्गो अभियान नेपालको आयोजनामा महिला उद्यमशीलता अन्तरगत निशुल्क चुरा र पोते बनाउने एक हप्ते तालिम सुरु भएको छ ।
सैनामैना नगरपालिका वडा नंं ६ कलौनीमा विहिवारदेखि तालिमको शुभारम्भ भएको हो ।
तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेलले सीप आफैमा महत्वपूर्ण रहेको बताउँदै सीप सिकेर दक्ष हुन महिला दिदी बहिनीहरुलाई आग्रह गर्नुभयो । उहाँले सैनामैना नगरपालिकाले तालिम दिएपनि त्यसको समुचित सदुपयोग हुन नसकेको भन्दै तालिम लिएपछि त्यसलाई कार्यान्वयन गरेर अघि बढ्न आग्रह सहभागी प्रशिक्षार्थीहरुसंग आग्रह गर्नुभयो ।



तालिम आयोजक संस्था भर्गो अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद शर्माले महिला दिदी बहिनीहरुलाई तालिम लिएपछि त्यसको सदुपयोग गर्न आग्रह गर्दै व्यवसाय गर्न पैसाकै आवश्यकता परे आफूहरुले सहजीकरण गरिदिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले कमाउँदै तिर्दै जाने गरि महिला दिदी बहिनीहरुलाई बिना ऋणमा लगानी गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
यसैगरी गोरखनाथ सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष लता खडकाले महिला दिदी बहिनीहरु आर्थिकरुपमा सम्पन्न हुनको लागि आफैले सिप सिकेर अरुलाई समेत सिपमा जोडेर समाजमा आर्थिक रुपमा बलियो हुन सकिने भएको भएकोले यो तालिमपछि व्यवासायीक बन्न आग्रह गर्नुभयो । उहाँले तालिम लिने र बीचमै छोडने नगर्न आग्रह गर्दै तालिमले आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउनुभयो ।
गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजना र सैनामैना नगरपालिका वडा नंं ६ को सहयोगमा सुरु भएको तालिम चैत २८ गतेसम्म संचालन हुनेछ । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।
भर्गो अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रमको संचालन नरहरी भुसालले गर्नुभएको थियो भने तालिमको प्रशिक्षकको रुपमा चमकला बमरेल रहनुभएको छ ।




