राष्ट्रिय लोकभजन तथा चुटका संरक्षण प्रतिष्ठान सैनामैनाको प्रथम बार्षिक उत्सव समारोह तथा २४ घण्टे अखण्ड हरिनाम संकिर्तन शनिवार नवदुर्गा भवानी मन्दिर तथा प्रस्तावित शैलपुत्री शक्तिपीठ मुर्गियामा सम्पन्न भएको छ ।
सैनामैनाका विभिन्न मन्दिरहरुमा नियमित शनिबारीय लोकभजन संकिर्तन ५२ हप्ता पूरा भएको अवसरमा राष्ट्रिय लोकभजन तथा चुटका संरक्षण प्रतिष्ठान सैनामैनाको आयोजनामा बार्षिक उत्सवसहितको २४ घण्टे अखण्ड हरिनाम संकीर्तनका साथै श्रीमददेवी भागवत यज्ञ तथा धार्मिक अनुष्ठान भएको हो ।
त्यस अवसरमा बोल्दै राष्ट्रिय लोकभजन तथा चुटका संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष नारायणप्रसाद खनाल लेकालीले लोप हुँदै गएको लोकभजन संरक्षणमा राष्ट्रिय लोकभजन तथा चुटका संरक्षण प्रतिष्ठान सैनामैनाले निकै सराहनीय काम गरेको बताउदै आगामी दिनमा पनि यो अभियान नरोकिने प्रतिवद्धता जनाउनुभयो ।



रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियामा रहेको नवदुर्गा भवानी मन्दिर तथा प्रस्तावित शैलपुत्री शक्तिपीठमा भएको उक्त कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, त्यसैगरी सैनामैना ५ का वडा अध्यक्ष धनप्रसाद पौडेल, नवदुर्गा भवानी मन्दिरका अध्यक्ष कृष्णप्रसाद कँडेल, तथा दामोदर अधिकारीले प्रतिष्ठानले धार्मिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।
राष्ट्रिय लोकभजन तथा चुटका संरक्षण प्रतिष्ठान सैनामैनाका उपाध्यक्ष बिशाल पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन प्रतिष्ठान सैनामैनाका नगर इञ्चार्ज विष्णुप्रसाद घिमिरेले गर्नुभएको थियो ।




