बाल्टिमोर, अमेरिका —अमेरिकाको बाल्टिमोर क्षेत्रका नेपाली समुदायको सबैभन्दा ठूलो र पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालिज् इन अमेरिका (बाना) को नयाँ नेतृत्व चयनका लागि आइतवार सम्पन्न निर्वाचनमा जितेन्द्र गुरुङ र उनको टिमले शानदार जित हासिल गरेका छन्।
अध्यक्ष पदका लागि तीन प्रत्यासीबीच भएको प्रतिस्पर्धामा जितेन्द्र गुरुङले १,१६१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कोशिश भण्डारीले ९५५ र अर्की प्रत्यासी लक्ष्मी भारतीले ५६१ मत प्राप्त गरे। यसैगरी, अन्य सबै पदमा पनि गुरुङ टिमका उम्मेदवारहरूले जित हासिल गरेका छन्।
अढाई दशक पुरानो यो संस्थाको निर्वाचनलाई बाल्टिमोरको नेपाली समुदायले निकै चासो र उत्सुकताका साथ हेरेको थियो। करिब ५,००० सदस्य रहेको बानाको यसपटकको निर्वाचनमा २,६७३ जनाले प्रत्यक्ष सहभागिता जनाएर मतदान गरेका थिए। जम्मा मतमध्ये १८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। गुरुङको जितलाई समुदायले समावेशी र सबैले स्वीकार गर्न सक्ने नेतृत्वको रूपमा लिएको छ, जसलाई मत परिणामले पनि पुष्टि गरेको छ।
निर्वाचनमा जितेन्द्र गुरुङको टिमलाई बाल्टिमोरका प्रायः सबै क्षेत्रीय र सामाजिक संघसंस्थाले समर्थन गरेका थिए। नयाँ र युवा पुस्ताले कोशिश भण्डारीको परिवर्तनको नारालाई समर्थन गरे पनि उनी दोस्रो स्थानमा रहे। संस्थापन पक्षकी लक्ष्मी भारती, जो वरिष्ठ उपाध्यक्ष पनि थिइन्, आफ्नो टिमसहित तेस्रो स्थानमा सीमित भइन्। विगत १२ वर्षदेखि नेतृत्वमा रहेको संस्थापन पक्षलाई मतदाताले तेस्रो बनाउँदै गुरुङ टिमलाई आगामी तीन वर्षका लागि सामाजिक सेवाको जिम्मेवारी सुम्पिए।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र आठ कार्यसमिति सदस्यसहितको यो निर्वाचनमा गुरुङ टिमले पाँच कार्यसमिति सदस्य उम्मेदवार बनाएको थियो, जसमध्ये सबै विजयी भए। बाँकी तीन स्थानमा कोशिश टिमबाट दुई र भारती टिमबाट एक जना निर्वाचित भए। निर्वाचित पदाधिकारी र मत परिणाम निम्नानुसार छ:
-
वरिष्ठ उपाध्यक्ष: जनक थापा (९८५ मत)
-
उपाध्यक्ष: ब्रजेश महर्जन (१,१२५ मत)
-
महासचिव: सलिन बस्नेत (१,००१ मत)
-
सचिव: सुशील खत्री (९३९ मत)
-
कोषाध्यक्ष: संजु डंगोल (९९७ मत)
कार्यसमिति सदस्य:
-
हृदय केसी (१,३७७ मत)
-
प्रविन लामा (१,३४६ मत, भारती टिम)
-
राजु सुवेदी (१,३३५ मत)
-
भुपेशजंग शाही (१,३१० मत)
-
सोनीका चुनारा (१,२६४ मत)
-
अर्जुन क्षेत्री (१,२२० मत, कोशिश टिम)
-
लक्ष्मीराम (ललित) शाह (१,१८३ मत)
-
डा. कृष्ण विष्ट (१,१७३ मत, कोशिश टिम)
नेपालको पर्वत जिल्ला मूल घर भएका जितेन्द्र गुरुङ विगत एक दशकदेखि बाल्टिमोरमा बसोबास गर्दै आएका छन्। सरल र मृदुभाषी स्वभावका गुरुङ नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन्। बानामा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका उनी पर्वत समाज, गुरुङ समाज, मगर समाजलगायत विभिन्न संघसंस्थामा पनि संलग्न छन्। विशेषगरी कोरोना महामारीको समयमा उनले समुदायमा सक्रिय भूमिका खेलेका थिए। यसपटक नेपाली जनसम्पर्क समिति र कांग्रेस समर्थकहरूले अभूतपूर्व एकता प्रदर्शन गर्दै उनको टिमलाई बलियो समर्थन गरे, जसले उनको जितलाई सुनिश्चित गर्यो।
सन् २००९ मा रबिना थापा अध्यक्ष र गौतम दाहाल महासचिव निर्वाचित भएयता कांग्रेस निकट कुनै पनि व्यक्ति बानाको नेतृत्वमा पुग्न सकेका थिएनन्। यसपटक जितेन्द्र गुरुङको टिमको शतप्रतिशत जितले कांग्रेस समर्थकहरूमा उत्साह थपेको छ। यो निर्वाचनले बाल्टिमोरको नेपाली समुदायमा नयाँ नेतृत्व र एकताको सन्देश प्रवाह गरेको छ।
जितेन्द्र गुरुङ र उनको टिमले अब आगामी तीन वर्षसम्म बानामार्फत समुदायको सेवा र उत्थानका लागि काम गर्ने जिम्मेवारी पाएका छन्। समुदायले यो नयाँ नेतृत्वबाट ठूलो अपेक्षा राखेको छ।





