सैनामैना, चैत २८ ।
रुपन्देहीको सैनामैना ३ मुर्गियामा रहेको पुष्पनगर युथ क्लबको आयोजनामा पुष्पनगर नकआउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ ।
चैत २९ गते शुक्रबारदेखि हुने यो प्रतियोगितामा १२ वटा टिमले भाग लिने भएका छन ।
क्रिकेटप्रेमीहरू आगामी पुष्पनगर नकआउट क्रिकेट टुर्नामेन्टलाई लिएर उत्साहित भएका छन् ।
पुष्पनगर युथ क्लबको आयोजनामा हुने प्रतियोगिता यस क्षेत्रकै प्रतिष्ठित १२ टोलीहरूको प्रतिस्पर्धात्मक भिडन्तको साक्षी बन्ने आयोजकको विश्वास छ ।
प्रतियोगिताका खेलहरू सैनामैना नगरपालिकाको वडा नम्बर ३ स्थित खेल मैदान र मुर्गिया खकनपुरमा आयोजना हुनेछन् ।
सहभागी टोलीहरूमा जनजागृति युथ क्लब, नमुना युथ क्लब सैनामैना ६, नमुना युथ क्लब सैनामैना ८, फिटनेस टाइम, समरवा सुपर किंग, मुर्गिया वारियर, डोगरा युथ क्लब सैनामैना २, सगरमाथा युथ क्लब, आयोजक पुष्पनगर युथ क्लब, द बोयज र मुर्गिया पेसर्स रहेका छन् ।
नकआउट क्रिकेट टुर्नामेन्टको मुख्य प्रायोजक प्रदीप थापा रहेका छन् भने आशीष अर्याल (लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल) ले पावर्ड बाई अन्तर्गत सहयोग प्रदान गरेका छन् ।
पुष्पनगर युथ क्लबका अध्यक्ष प्रदीप थापा, उपाध्यक्ष प्रशान्त रायमाझी, सचिव भुवन कुँवर र कोषाध्यक्ष सत्यम गिरी सहितको आयोजक समिति प्रतियोगितालाई सफल बनाउन सक्रिय रूपमा लागिरहेको छ ।
बलिया प्रतिस्पर्धी टोलीहरूको सहभागिता र समुदायको उत्साहजनक समर्थनले पुष्पनगर नकआउट क्रिकेट टुर्नामेन्ट एक अविस्मरणीय खेलकुद महोत्सव बन्ने आयोजकको दावी छ ।
यो खेलले स्थानीय क्रिकेट प्रतिभालाई उजागर गर्नुका साथै क्रिकेट प्रेमीहरूबीच आपसी सद्भाव र भाइचाराको भावनालाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।







