


बुटवल, २६ वैशाख।
सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवलमा आज एक दिने लोकसेवा आयोग तयारी अभिमुखिकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। चैतन्य एकेडेमी, बुटवल शाखाको आयोजनामा र क्याम्पसको संयोजनमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूलाई सरकारी सेवातर्फ प्रेरित गर्ने उद्देश्य बोकेको थियो।
कार्यक्रमका सभापति अतिरिक्त क्रियाकलाप समिति संयोजक तिर्थराज काफ्ले रहेका थिए भने प्रमुख अतिथिको रूपमा क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईंको उपस्थिति रहेको थियो। विशेष अतिथिमा सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनाल र रामनाथ उपाध्याय तथा कार्यक्रम प्रशिक्षकका रूपमा नेपाल सरकारका उपसचिव भविश्वर घिमिरे सहभागी हुनु भएको थियो।
प्रमुख अतिथि चापागाईंले स्वदेशमै स्वरोजगार र राष्ट्रसेवामा लाग्न विद्यार्थीलाई उत्प्रेरित गर्ने खालको कार्यक्रम आवश्यक रहेको बताउँदै क्याम्पसका धेरै विद्यार्थीहरू उच्च ओहदामा पुग्न सफल भएको उल्लेख गर्नुभयो। उहाँले नयाँ पुस्ताले अध्ययनसँगै लोकसेवाको तयारीमा दृढताका साथ लाग्नुपर्ने सुझाव दिनुभयो।
प्रशिक्षक उपसचिव घिमिरेले लगनशील अध्ययन गर्ने विद्यार्थीहरूका लागि सरकारी सेवामा प्रवेश गर्न कठिन नभएको धारणा राख्नुभयो। उहाँले विदेशिनु भन्दा स्वदेशमै संघर्ष र सफलता सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन चैतन्य एकेडेमी, बुटवल शाखाका प्रमुख दीपक ढकालले गर्नुभएको थियो भने उपप्राध्यापक शेषकान्त अर्यालले कार्यक्रमबारे जानकारी गराउनु भएको थियो।





