रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको ८ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
पर्रोहा बोलबम धामको गत जेठ १७ गते भएको अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण समारोहमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अव पर्रोहा बोलबम धामलाई फोहोरमुक्त गर्ने र यो क्षेत्रलाई शान्त वातावरणको रुपमा विकास गर्ने बेला आएको बताउनुभयो ।



उहाँले फोहोर नभएमा बाताबरण मात्रै सफा नभै शान्तिको अनुभूति समेत गर्न सकिने भएकोले निर्वाचित नयाँ नेतृत्वले बोलबम धामलाई फोहर मुक्त बनाउन तथा सफा र हरियालीमय बनाउन सुझाव दिनुभयो ।
पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका नवनिर्वाचित अध्यक्ष तथा सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न सहयोग गर्ने सवैप्रति आभार प्रकट गर्दै आफूहरुलाई विश्वास गरेर नयाँ जिम्मेवारी सुम्पिएकोमा त्यो बिश्वासलाई तलमाथि हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक खुसीराम चौधरीले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न निर्वाचन समितिलाई सहयोग गर्नेहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा पर्रोहा बोलबम धामलाई यस क्षेत्रकै ऐतिहासिक तथा धार्मिक गन्तब्यको रुपमा विकास गर्न नयाँ नेतृत्व समक्ष आग्रह गर्नुभयो ।
त्यस अवसरमा निर्वाचन समितिले नवनिर्वाचित नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ गराएको थियो ।
निर्वाचन समितिका संयोजक खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य चित्रबहादुर केसीले गर्नुभएको थियो ।
यसैबीच नवनिर्वाचित समितिले यही असार २६ गतेदेखि सुरु हुने यो बर्षको बोलबम जलार्पण यात्रा तथा श्रावणी मेलाको तयारीको बिषयमा समेत छलफल गरेको छ ।




