रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम मन्दिर व्यवस्थापन समितिमा मनोनित २१ जना सल्लाहकारहरुको सपथ ग्रहण मंगलवार धाम परिसरमा एक कार्यक्रमका बीच भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीले मनोनित सल्लाहकारहरु तथा यसअघि सपथमा छुटनु भएका सदस्यहरुलाई सपथ गराउनु भयो ।



यही साउन २६ गते विहिवार गुरु पूर्णिमाको दिनदेखि सुरु हुने बोलबम धाम जलार्पण तथा श्रावणी मेलाको पूर्व सन्ध्यामा सल्लाहकारहरुको सपथ भएको हो ।
जलार्पण यात्रा तथा श्रावणी मेलाको तयारीमा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम मन्दिर व्यवस्थापन समिति लागिसकेको छ ।
पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष चित्रबहादुर कार्कीले बोलबम धामको आन्तरिक श्रोत व्यवस्थापन बलियो नभएको हुँदा अव मन्दिर व्यवस्थापन समितिले ठोस कार्ययोजना बनाउने उल्लेख गर्नुभयो । उहाँले मन्दिरका सल्लाहाकार धर्मगुरु ब्यासाचार्य किशोरकुमार गौतमले कार्ययोजना प्रस्तुत गर्ने र सोही कार्ययोजना अनुसार मन्दिर व्यवस्थापन समितिले काम अघि बढाउने बताउनुभयो ।
अध्यक्ष कार्कीले पर्रोहा बोलबम धामको विकासका लागि गुरुयोजनाको काम पनि अघि बढाउने र सल्लाहकारहरुले दिने सुझाव अनुसार अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
यसैगरी पर्रोहा बोलबम धामका सल्लाहकार ब्यासाचार्य किशोरकुमार गौतमले यो बर्षपनि भब्यरुपमा बोलबम जलार्पण यात्रा यही असार २६ गते विहिवारदेखि सुरु हुने बताउँदै नेपालका साथै भारतका विभिन्न धामबाट तिर्थयात्रीहरु जलार्पणका लागि आउने बताउनुभयो ।
पर्रोहा बोलबम धामका सल्लाहकार पण्डित विष्णु ज्ञवालीले असार २६ गते गुरुपूर्णिमाको दिनदेखि साउन २४ गते जनैपूर्णिमाको दिनसम्म बोलबम जलार्पण यात्रा तथा श्रावणी मेला आयोजना हुने बताउनुभयो । उहाँले बोलबम धाममा
एक महिनासम्म शिव महापुराण आयोजना हुने बताउँदै सात दिनसम्म नन्दी भगवानको प्राणप्रतिष्ठाको कार्यक्रम समेत हुने जानकारी दिनुभयो ।
पर्रोहा बोलबमधाममा नेपाल तथा भारतका हजारौं भक्तजनले हरेक बर्ष जलार्पण गर्ने गर्दछन् ।
पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित बोलबम धाममा गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्म साउन महिनाभर जलार्पण गर्ने परम्परा छ ।
कपिलबस्तुको लक्ष्मणघाट, रुपन्देहीको रामघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिबेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङ्गको मुक्तिनाथ, प्यूठानको स्वर्गद्धारी, काठमाडौँको सुन्दरीजल, पशुपतिनाथ लगायत भारतका पवित्र स्थानहरुबाट गंगाजल उठाई पर्रोहा बोलबम धाममा ल्याई जलार्पण गर्ने भक्तजनहरुको घुँईचो लाग्छ ।




