रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले शुक्रबार आयोजना गरेको सैनामैना उद्यम शिक्षा संगमले उद्यमी बन्न चाहने विद्यार्थीहरुलाई ठूलो प्रोत्साहन मिलेको छ ।
‘शिक्षा र उद्यमको संगम युवाहरुको सुनौलो भविष्यको आधार’ भन्ने नाराका साथ भएको एक दिने संगममा उपस्थित विद्यार्थीहरुले सैनामैनाका उद्यमीहरुले प्रदर्शन गरेको उद्यमबाट समेत प्रेरणा मिलेको भन्दै यस प्रकारको कार्यक्रमले विद्यार्थीको जीवनमा ठूलो परिवर्तन ल्याउने बताएका छन ।
युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरु बिच ज्ञान, अनुभव आदानप्रदान गर्ने उदेश्यका साथ भएको सैनामैना उद्यम शिक्षा संगमको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नेपालमै बसेर पनि केही न केही गर्न सकिन्छ भन्ने कुरा सवैभन्दा पहिले अभिभावकहरुले आफ्ना छोरा छोरीलाई सिकाउनु पर्ने बताउँदै हामीसंग जे छ, त्यसैमा खुसी हुनुपर्छ भन्ने सकारात्मक भावनाको विकास हुनुपर्ने बताउनुभयो ।



उहाँले यति महत्वपूर्ण कार्यक्रमबाट विद्यार्थी भाई बहिनीहरुले नयाँ नयाँ कुरा सिकेर नेपालमै बसेर पनि गर्न सकिन्छ भन्ने कुराको उदाहरण दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले आर्थिक पहुँच नहुँदा महिलाहरु उद्यमी बन्न नसकिरहेको बताउँदै सानो सानो अवसरलाई पनि सदुपयोग गर्न सकियो भने भोलिको दिनमा उद्यमी बन्न सकिन्छ भन्ने कुरा आजको महत्वपूर्ण कार्यक्रमले पुष्टी गरेको बताउनुभयो ।
शहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थले नेपालमा केही छैन भन्ने निरासाको खेती अव बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले निरासाका बीचमा पनि आशाको संभावना कायमै छ भन्दै नेपालमै केही गर्न सकिन्छ भन्ने कुरा यो कार्यक्रमले विद्यार्थी भाई बहिनीहरुलाई सिकाएकोले अव यो कार्यक्रमबाट शिक्षा लिएर अघि बढ्न आग्रह गर्नुभयो ।
सोही अवसरमा बोल्दै शहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले यो कार्यक्रममार्फत सैनामैनाका उद्यमी र विद्यार्थी भाई बहिनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले प्लस टुका विद्यार्थी भाई बहिनीहरुले डिजिटल मार्केटिङबाट पनि घरमै बसेर उद्यमी बन्न सकिन्छ भन्ने संभावना यो कार्यक्रमले देखाएकोले विद्यार्थीहरुमा यो कार्यक्रमबाट प्रेरणा मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा ईड्राईभ लुम्बिनी प्रदेशका अध्यक्ष राजकुमार गुप्ता र गाउँको घर ईको फार्म हाउस पाल्पा र नेपाली लुगाका समुन्द्र घिमिरेले परम्परागत ब्यवसाय र नविनतम प्रविधिको विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँहरुले आजको डिजिटल युगमा घरमै बसेर पनि उद्यमी बन्न सकिने संभावना भएकोले त्यो अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा डिजिटल मार्केटिङ र स्थानिय ब्यवसाय, सामाजिक उद्यमशीलता र स्थानिय विकास विषयमा प्यानल छलफल भएको थियो ।
सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अनुसन्धान विभागका संयोजक दिनेश पन्थीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रम दुई चरणमा भएको थियो भने कञ्चन गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।




