हाम्रो संस्कृति हाम्रो पहिचान जगेर्ना गर्ने हाम्रो अभियान भन्ने नाराका साथ सैनामैना नगर विद्यालय स्तरीय शिक्षक तीज गीत प्रतियोगिता आयोजना भएको छ ।
सैनामैना नगरपालिकाको सतचिन्तन प्रतिष्ठानमा भएको प्रतियोगिताको शिर्षक विद्यार्थीको चौतर्फी विकासमा शिक्षकको भूमिका राखिएको थियो ।
रेन्बो मण्टेश्वरी स्कुल सैनामैना ७ को आयोजनामा भएको कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले विद्यालय स्तरीय शिक्षक तीज गीत तथा नृत्य प्रतियोगिताले नेपाली कला संस्कृति विद्यालयसम्म पु¥याउन सहयोग गर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र पुरी, रामापुर माविका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल, सुनगाभा पब्लिक स्कुलका प्रिन्सिपल तिलब केसी, रामापुर रिभाईबल इङलिश बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद शर्मा, कोटियादेवी माध्यमिक विद्यालयका रमेश भुसाल र सिद्धार्थ ममोरियल एकेडमीका अतिरिक्त कृयाकलाप संयोजक बिष्णुप्रसाद अर्याल लगायतले बोल्दै यस प्रकारका प्रतियोगिताले शिक्षकहरुमा पनि पुरानो संस्कृति संरक्षण गर्न सहयोग पु¥याउने बताउनु भएको थियो ।
प्रतियोगितामा प्रथम सुनगाभा पब्लिक स्कुल मुर्गिया प्रथम भएको छ भने दोश्रो रामापुर माध्यमिक विद्यालय कलौनी र तेश्रो लिटिल बर्ड इङलिश स्कुल भएका छन । त्यसैगरी लय तथा स्वरमा सुनगाभा पब्लिक स्कुल, अनुशासनमा सिद्धार्थ ममोरियल एकेडेमी र बेष्ट कोरियोग्राफरमा बुद्ध इङलिश बोर्डिङ स्कुल उत्कृष्ट भएका छन ।
रेन्बो मण्टेश्वरी स्कुलका अध्यक्ष ध्रुव ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रिन्सिपल गौमती थापाले गर्नुभएको थियो ।







