राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं लगिएको छ ।
रविलाई भैरहवाबाट अपरान्ह ४ बजेको बुद्ध एयरको जहाजमार्फत काठमाण्डौं लगिएको हो । उहाँलाई त्रिभुवन विमानस्थलबाट सिधै ललितपुरस्थित नख्खु कारागार लगिएको छ । शुक्रबारमात्रै कारागार विभागले उहाँलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।
सोही अनुसार, रविलाई शनिबार ललितपुरस्थित नख्खु कारागार लगिएको हो ।
रविले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याउन लागेको हो ।
नख्खु कारागारका प्रशासक भीमराज निरौलाले नख्खु कारागारले लामिछानेका लागि छुट्टै कोठाको समेत व्यवस्था गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘आजका लागि हामीले सिआईसी ब्लकमा छुट्टै कोठामा उहाँलाई राखेका छौं, उहाँका लागि भनेर त्यस्तो छुट्टै केही व्यवस्था भने हुने छैन । अरू जसरी नै उहाँलाई राखिने छ । आज छुट्टै कोठामा राख्ने छौँ । त्यसपछि बाँकी व्यवस्थापन हुँदै जानेछ ।’



बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा रहनुभएको थियो । उहाँले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिनुभएको थियो । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको र न्यूनतम आवश्यक पूर्वाधार समेत नभएको बताएपछि सरकारले उहाँलाई काठमाडौं सार्न तयार भएको हो ।
काठमाण्डौं जाने क्रममा भैरहवा विमानस्थलमा रवि लामिछानेले राजनीतिक प्रतिशोधका कारण आफूलाई जहाँसुकै लगे पनि डराउने अवस्था नरहेको बताउनु भएको छ । भैरहवा विमानस्थलमा रास्वपा उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग भेट्दा उहाँले उक्त कुरा बताउनुभएको हो ।
लामिछानेले भन्नुभयो– “राजनीतिक प्रतिशोधले मलाई मंगलग्रहसम्म लगे पनि म डराउँदिन, पुरै नेपाल मेरो घर हो, सबै नेपाली आफन्त हुन् । सबैसँग माया र सद्भाव पाएको छु ।”
प्रवक्ता झाले रबिसंगको भेटको बिषयमा जानकारी दिँदै सभापति रवि लामिछानेलाई कारागार सरुवाले कुनै त्रास थपेको छैन ।
भैरहवामा १२६ दिन बिताएको अनुभव साझा गर्दै लामिछानेले सुरक्षाकर्मी, कारागार प्रशासन र खानापानी व्यवस्थापनमा संलग्न सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।




