नेपाल प्रेस युनियन रुपन्देही शाखाले सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अभियान शुुुभारम्भ गरेको छ । बिहिबार बुटवलमा एक औपचारिक कार्यक्रमका बिच युनियन केन्द्रले शुभारम्भ गरेको १ सय दिने सदस्यता अभियान अन्तर्गत जिल्लामा अभियान शुभारम्भ भएको हो । अभियानको शुभारम्भ गर्दै नविन राना र जगत ठाडा मगरलाइ नयाँ सदस्यता प्रदान गरिएको छ ।
सो कार्यक्रमको शुभारम्भ गर्दै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले तीनै तहका सरकारले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने कार्य गरेको बताउँदै त्यस्ता कार्यको प्रेस युनियनले विरोध गर्ने बताउनुभयो । उहाँले कोही कसैले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कार्य गरे त्यसको विरोध गर्ने बताउनुभयो ।



डिजिटल सञ्चार माध्यमलाई सहज बनाउनका लागि वडा तहबाट नै अभिलेखीकरण गर्नुपर्ने बताउँदै डिजिटल सञ्चार माध्यमको दर्ता प्रक्रिया नहुने तर त्यसलाई व्यवस्थित गर्न वडा तहमा नै अभिलेखीकरण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सिडियो कार्यालयमा अनलाइन मिडिया दर्ता गर्ने भए पत्रिका जस्तै एकपटकका लागि अभिलेखीकरण गरिने तर पटकपटक नविकरण गर्ने गरि मान्य नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले प्रेस जगत समाजको ऐना भएको भन्दै सत्य तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको रक्षाका निम्ति प्रेसको भूमिका स्रहानिय रहेको उल्लेख गर्नुभयो । बुटवल नगर सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाज नकारात्मकता तर्फ धकेलिएको भन्दै समाजलाई सकारात्मक बाटोमा हिडाउन मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा युनियनका पूर्व अध्यक्ष रामराज पोखरेल, सल्लाहकार तथा युनियनका केन्द्रिय सदस्य रेखा भुसाल, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, महासंघका पूर्व केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम उपाध्यक्ष दिपक घिमिरेको स्वागत, अर्की उपाध्यक्ष कल्पना तिवारीको धन्यवाद ज्ञापन र सचिव कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो । यो अभियान नेपाल प्रेस युनियन केन्द्रिय कार्य समितिको निर्देशन अनुसार साउन १५ गतेदेखि कार्तिक २१ गतेसम्म चल्ने छ ।




