बुटवल उपमहानगरपालिका वडा नंं १६ वडा कार्यालयले शनिवार कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा ८० बर्ष नाघेका २१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सम्मानित हु्नेमा बुटवल १६ डिवार बस्ने ११२ बर्षीय क्षदी दंगोरिया थारु समेत रहनुभएको छ । उहाँलाई बुटवलकै ज्येष्ठ नागरिकको रुपमा सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिहरुलाई सम्मान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा यस अघिदेखि नै सुरु गरेको बताउँदै ज्येष्ठ नागरिकको सम्मानले नै बुटवलको भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । नगर प्रमुख पाण्डेले ११२ बर्षीय ज्येष्ठ नागरिकप्रति बुटवलले गरेको सम्मान भनेको सवै ज्येष्ठ नागरिकप्रतिको सम्मान हो भन्दै क्षेदी दंगोरिया थारु लगायत सम्मानित हुनुहुने सवै ज्येष्ठ नागरिकको सुस्वास्थ्यको कामना गर्नुभयो । हाम्रा अग्रजहरुको कारणले नै हामीलाई काम गर्ने प्रेरणा मिलेको नगर प्रमुख पाण्डेको भनाई छ ।




नगर प्रमुख पाण्डेयले ११२ बर्षीय क्षेदी दंगोरिया थारुलाई बुटवलकै ज्येष्ठ नागरिकको रुपमा सम्मान प्रदान गरिएको बताउनु भयो । उक्त अवसरमा थारु लगायत सवै ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने फलफूल लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक मञ्च १६ का संयोजक ज्येष्ठ नागरिक डिल्लीप्रसाद रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन वडा सचिव देवराज श्रेष्ठले गर्नुभएको थियो ।
बुटवल उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले गएको बैशाखमा माता तीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा पनि ८० बर्ष माथिका ३२ जना आमाहरुलाई घर घरमा गएर वडाले सम्मान गरेको बताउनुभयो ।




