१२ कार्तिक,
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नंं ५ का पूर्व सांसद भरतकुमार शाहले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा भएको तोडफोडको बुधबार निरिक्षण गर्नुभएको छ । कांग्रेसका केन्द्रिय सदस्य शाहले बुधबार कांग्रेसको भैरहवामा रहेको जिल्ला पार्टी कार्यालयको निरिक्षण गर्नुभएको हो ।

रुपन्देहीका विभिन्न स्थानमा जेनजी आन्दोलनका नाममा पार्टी कार्यालयहरु र व्यक्तिगत सम्पत्तिमाथि तोडफोड तथा आगजनी गरिएको थियो । सो क्रममा रुपन्देहीको भैरहवास्थित कांग्रेस जिल्ला पार्टी कार्यालय र त्यहाँ पार्किङ गरिएका जिल्लास्तरीय नेताका ४ वटा गाडीमा तोडफोड गरिएको थियो । जेनजीका नाममा आएको एक समूहले पार्टी कार्यालय र गाडीमा ढुंगामुढा प्रहार गरेको थियो । कांग्रेस केन्द्रिय सदस्य शाहले बुधबार जिल्ला नेताहरुसंग भैरहवास्थित पार्टी कार्यालयमा छलफल गर्दै जेनजी युवाहरुको नाममा उच्श्रृंखल तत्वहरुले आगजनी तथा तोडफोड गरेकोप्रति दुःख प्रकट गर्नुभएको छ ।

आक्रमणबाट पार्टी कार्यालयका झ्याल फुटनुका साथै साथै पर्खालमा रहेका बत्ती फुटेका थिए । त्यसैगरी क्षेत्रीय सभापति सुशील गुरुङ, जिल्ला कोषाध्यक्ष हरिप्रसाद अर्याल, जिल्ला सहसचिव विष्णु थापा र ठाकुरप्रसाद गुरौको गाडीमा समेत क्षति पुगेको थियो ।
युवाहरुको समूहले जिल्ला पार्टी कार्यालयभित्र राखिएको गाडी र पार्टी भवनमा इँटा र ढुंगा हानेका थिए । कांग्रेस केन्द्रिय सदस्य शाहले यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिका, कञ्चन गाउँपालिका लगायत मंगलबार सैनामैनामा जेनजीको नाममा गरिएको आगजनी तथा तोडफोडको स्थलगत निरिक्षण गर्नुभएको थियो ।




