रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाको २३ औं बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
त्यसअघि साधारण सभाको उदघाटन गर्दै सहकारी महासंघ संचालक, जिल्ला कृषि सहकारी संघकी अध्यक्ष एवं देवदह साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष टिका न्यौपानेले अव कसैको घरमा ऋण माग्न जानुभन्दा साना किसान कृषि सहकारी पर्रोहामा आएर आफ्नो अवस्था र आवश्यकता अनुसारको ऋण लिएर ऋणको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले साना किसान कृषि सहकारी पर्रोहाको प्रगति राम्रो रहेको पाएको बताउँदै अर्को साधारण सभामा बोनस अझै बढाउने अवस्था सिर्जना होस भन्ने शुभकामना दिनुभयो ।
त्यसैगरी कार्यक्रममा प्रदेश कृषि सहकारी संघका अध्यक्ष तथा सेमलार साना किसान सहकारी संस्थाका अध्यक्ष गोपाल पौडेलले कृषि सहकारीले प्रदान गर्ने विभिन्न सेवा र सहुलियतबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले कृषि सहकारीले सस्तो ऋणमा लगानी गर्ने गरेको बताउँदै त्यसको सेवा र सुविधा लिएर व्यापार व्यवसाय तथा कृषि कार्यमा जोडिन सेयर सदस्यहरुसंग आग्रह गर्नुभयो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाका अध्यक्ष परशुराम सापकोटाले सहकारीले स्थापनाको २३ बर्षको अवधीमा सैनामैना, गैडहवा, मायादेवी र शुद्धोधन गाउँपालिकामा सेवा विस्तार गरि चारहजार १ सय ८२ जना सेयर सदस्यहरुलाई सेवा दिएको बताउनुभयो ।



कृषि सहकारी पर्रोहाका अध्यक्ष परशुराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भगवती कँडेलले गर्नुभएको थियो । सहकारीका मूख्य व्यवस्थापक दिनेश कुमार घिमिरेले कार्यक्रम संचालन गर्दै आर्थिक बर्ष २०८१÷०८२ मा ९ करोड ५७ लाख १५ हजार ८ सय २२ रुपैया कूल आम्दानी भएकोमा ८ करोड ३४ लाख ९१ हजार ६ सय २ रुपैया खर्च भई कूल आम्दानी १ करोड २७ लाख ९२ हजार ६ सय ५७ रुपैया भएको जानकारी दिनुभयो ।




