रूपन्देही जिल्लाको सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान भएको छ ।
नयाँ नेतृत्वका लागि १६ पदमा कुल ४७ जना उम्मेदवार चुनावी मैदानमा छन् । ४ हजार ६ सय ८६ मतदातामध्ये २ हजार ८ सय ७१ अर्थात ६१ दशमलब ५ प्रतिशतले मतदान गरेका छन ।
संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाँले विहान ८ बजेदेखि सुरु भएको मतदान साँझसम्म चलेको बताउँदै संस्थाको नयाँ नेतृत्वका लागि उपभोक्ताको उत्साहजनक सहभागिताले यो खानेपानी संस्थाप्रति उपभोक्ताको आकर्षण बढेको प्रमाणित भएको बताउनुभयो । उहाँले अव आउने नयाँ नेतृत्व छान्न उपभोक्ताको उत्साहजनक उपस्थितले खानेपानीप्रति उपभोक्ताको लगाव अझै बढीरहेको बताउनुभयो ।



यसैगरी निर्वाचन समितिका संयोजक खुसीराम चौधरीले धेरै मत बदर नहोस भन्ने उद्देश्यले मतदातालाई मतदान गर्ने बारे शिक्षा प्रदान गरिएको बताउनुभयो । उहाँले मतदाता शिक्षाका लागि सोसल मिडिया प्रयोग गरिएको बताउँदै ४८ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गर्नुभयो ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा देवीदत्त सुवेदी, नेत्र थापा र लालबहादुर रावल प्रतिष्पर्धामा हुनुहुन्छ । त्यसैगरी उपाध्यक्षमा बसन्ता रेग्मी क्षेत्री, गिता अधिकारी र रमादेवी उपाध्यायबीच प्रतिष्पर्धा छ । सचिवमा लक्ष्मी श्रेष्ठ, मोहनकुमार सिंजाली र निर्मलराज पौडेल, कोषाध्यक्षमा बिष्णुकुमारी थापा, कृष्णकला काफ्ले र राधा पौडेल, सहसचिवमा सरिता घिमिरे आचार्य, छविलाल रेग्मी, छविलाल पन्थ र माधवप्रसाद पौडेलबीच प्रतिष्पर्धा छ ।




