रुपन्देहीको कञ्चन गाउँपालिकाले खाना पकाउने ग्याँसको विद्यमान अवस्थाका बिषयमा स्थलगत अनुगमन गरेको छ । पछिल्ला दिनमा विशेषगरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहेको गुनासो देशब्यापी रुपमा बढिरहेको बेला कञ्चन गाउँपालिकाको पछिल्लो अवस्थाका बिषयमा अनुगमन गरिएको हो ।

कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापाको नेतृत्वमा भएको अनुगमनमा कञ्चनका कुनैपनि वडामा ग्याँसको अभाव नदेखिएको बताइएको छ । अनुगमनका क्रममा आधा आधा ग्याँस सिलिण्डर सहजरुपमा उपलब्ध गराएको पाइएको कञ्चन गाउँपालिकाले जनाएको छ ।
उपाध्यक्ष मौसमी थापाले ग्याँसको दर्ता, दररेट, ग्याँसको संख्या लगायतको बिषयमा अनुगमन गरिएकोमा कालोबजारी नभएको देखिएको र सहजरुमा ग्याँस उपलब्ध भएको देखिएको बताउनुभयो ।



सोमबार कञ्चन गाउँपालिकाका आठवटा डिलरमा कञ्चन गाउँपालिकाका प्रशासकीय अधिकृत गिरिराज अर्याल, संचारकर्मी, प्रहरी र उपभोक्ता लगायतको सहभागितामा अनुगमन गरिएको थियो ।
इरान र अमेरिकाबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय रुपमै ग्याँसको आपूर्तिमा समस्या देखिएपछि त्यसको प्रभाव नेपालमा पनि देखापरेको हो । यो समस्या अझै केही समय कायमै रहने आशंका गरिएको छ ।
नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भएपनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको गुनासो गरेको थिए ।




