गजेडी २ बकुलघाट खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले ओमबहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नयाँ समितिको उपाध्यक्षमा तुलसीराम शर्मा, सचिवमा सुख्खु मल्लाह, कोषाध्यक्षमा बिष्णु शर्मा र सहसचिवमा दिलिप थापा चयन हुनुभएको छ भने सदस्यहरूमा हेमबहादुर थापा, यमबहादुर कार्की, दलबहादुर कार्की, सेमकला न्यौपाने, बिष्णु पौडेल, साबित्री बि.क., गितादेवी न्यौपाने र देवि शाही रहनुभएको छ। यसैगरी अधिवेशनले फटिकबहादुर के.सी. को संयोजकत्वमा टपबहादुर तुलाचन र बालकृष्ण शर्मा सदस्य रहेको ३ सदस्यीय लेखा समितिको समेत चयन गरेको छ।
अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि एवं कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँपालिका भित्र सञ्चालनमा रहेका विभिन्न संघ-संस्थाहरूलाई नियमन र रेखदेख गर्ने जिम्मेवारी पालिकाको भएकाले समन्वयका लागि ‘छाता ऐन’ निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले संस्थाहरूको आवश्यकता अनुसार पालिकाले तालिम प्रदान गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि खानेपानी डिभिजन कार्यालय योगिकुटीका प्रमुख प्रकाश के.सी.ले संस्थाले गत आर्थिक वर्षमा सुशासनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले संघ र प्रदेशबाट बजेट विनियोजनमा केही कमी भए पनि डिभिजन कार्यालयबाट प्राविधिक सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।



संस्थाका अध्यक्ष देविप्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगर, वडा नं. १ का वडा अध्यक्ष हरिनारायण चौधरी, कार्यपालिका सदस्य चित्रलाल तुलाचन, चुरामणि पौडेल, चिन्तामणि आचार्य र बमबहादुर थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष देविप्रसाद थारुले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिष्णु शर्माले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। निवर्तमान उपाध्यक्ष लालबहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तुलसीराम शर्माले गर्नुभएको थियो।




