साउन २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले निश्चित समयभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो ।



मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद् विस्तार तथा मन्त्रालय बाँडफाँटको विषय टुङ्गो लगाउने तयारी गरिएको छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको संरचना परिवर्तन हुने अवस्थामा पुगे पनि नयाँ सत्ता समीकरण अनुसार सरकारलाई पूर्णता दिने विषय भने अझै टुङ्गिन बाँकी छ ।
नेकपा (एमाले) र नेकपाबिच भएको सत्ता सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने सहमति भइसकेको छ । केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरण अनुसार प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटलाई अघि बढाउने तयारी गरिएको हो ।
नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउने तयारी रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित नौ वटा मन्त्रालय छन् । हाल मुख्यमन्त्रीसहित नेकपा (एमाले) का पाँच जना र जनता समाजवादी पार्टी नेपालका दुई जना मन्त्री सरकारमा छन् । कांग्रेस सरकारबाट बाहिरिएपछि मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने अवस्था आएको हो ।
प्रदेश सभामा एमाले सबैभन्दा ठुलो दलका रूपमा रहेको छ । ८३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि सामान्य बहुमतका रूपमा ४२ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । एमालेका २९ प्रदेश सभा सदस्य छन् भने नेकपाका सभामुखसहित १३ सदस्य छन् ।




