जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका र आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जानकारी दिनुभयो ।



सार्वजनिक सम्पत्तिमा तोडफोड, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन सक्ने भएकाले भेला गर्न, सभा समारोह गर्न, जुलुस, ¥याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी कर्फ्यु आदेश जारी गरिएको जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियापछि मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनपछिको परिस्थिति र ॐकार समाज हिन्दु परिवारले निकाले मङ्गलबार प्रदर्शन गरेको ¥यालीको क्रममा विवाद भई तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
यसअघि आज बिहान नेपालगञ्जमा हिन्दु, मुस्लिम धर्मगुरुसहितको उपस्थितिमा शान्ति र सद्भावको अपिलसहित सद्भाव ¥यालीको आयोजना गरिएको थियो।
उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशम्शेर राणाले बाँकेको नेपालगञ्ज क्षेत्रमा सद्भाव कायम राख्न अपिल गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद राणाले नेपालगञ्ज सद्भावको सहर भएकोले त्यो कायम राख्न सबै समुदायलाई आग्रह गरेका छन्।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदा आज दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ। यस विषयमा संसदमा कुरा राख्दै राणाले भने, ‘नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यु लागेको छ। हिंसाका घटना नियन्त्रण गर्न सरकारसँग माग गर्दछु।’
उनले शान्तिपूर्ण विरोध गर्न पनि आग्रह गरेका छन्। ‘हाम्रो सद्भावको सहरमा दुई समुदाय संयम अपनाइदिनुहोला,’ उनले भने।




