सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
सोमबार हन्ड्रेड ग्रुप र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’ लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हु्न् ।



टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ । कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन् ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।
मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो ।
रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । उक्त विवादको सुनुवाइ सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा परे पनि उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।




