नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन मंगलरबार भैरहवाको पटवा बैंक्वेटमा हुदैछ । कार्यक्रमलाई कांग्रेस केन्द्रिय सभापति शेर बहादुर देउवा संगै अन्य केन्द्रिय नेताहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमबारे जानकारी दिने उद्देश्यले सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले ३ हजार ४५ जना प्रतिनिधि एवम अन्य शुभचिन्तकहरुको सहभागीता रहने जनाउनुभयो । सम्मेलनले अहिले कांग्रेसमा रहेको गुटको राजनितिलाई न्यूनिकरण गर्ने खाँणले बताउनुभयो ।



लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरुको जिल्ला सम्मेलन पछि यहि मंसिर १६ र १७ गते बुटवलमा प्रदेश सम्मेलन गर्ने तयारी रहेको जिल्ला सभापति खाँणले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय अब्दुल रज्जाक र भरत कुमार शाहले नेपाली कांग्रेस स्पष्ट रुपमा संघियताको पक्षमा रहेको बताउनुभयो ।
उहाहरुले सम्मेलनले संघियताको बिषयमा कांग्रेसलाई थप स्पष्ट पार्ने बताउनुभयो । यस्तै कांग्रेस ठूलो पार्टी भएतापनि यसलाई अझै गतिशिल बनाउन, अझै क्रियाशिल बनाई कार्यकर्ताको मनोबललाई बढाउन सम्मेलन सहयोगी हुने उहाहरुले बताउनुभयो ।




