रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ भरतपुरमा रहेको जनकल्याण माध्यमिक बिद्यालयको ४१ बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
बार्षिकोत्सव कार्यक्रमको मूल समारोहलाई सम्वोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जनकल्याण माध्यमिक विद्यालय अरु विद्यालयहरुभन्दा फरक रहेको बताउनु भयो । उहाँले जनकल्याणमा कानुन विषयमा अध्यापन हुने र सैनामैनाका अरु कुनै विद्यालयमा कानुन बिषय अध्यापन नहुने भएकोले यसको महत्व अरु विद्यालयभन्दा फरक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवहादुर कार्कीले सरकारी बिद्यालयलाई अब्बल र सवै स्तरका विद्यार्थी अध्ययन गर्ने लायक बनाउनु पर्ने खाँचो औंल्याउनु भयो । उहाँले नीजि बोर्डिङ स्कुलमा सवैको पहुँच पुग्न नसक्ने भएकोले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन जोड दिदै सरकारी विद्यालयलाई दक्षिण एसियामै प्रतिष्पर्धी बनाउन जोड दिनुभयो ।
कार्कीले विगतमा आफ्नो नेतृत्वमा जसरी सरकारी विद्यालयको विकासका योजना अघि बढेको थियो त्यसलाई निरन्तरता दिन अहिलेको नगर नेतृत्वसंग आग्रह गर्नुभयो ।



बार्षिकोत्सव कार्यक्रममा नेकपा माओबादी सैनामैनाका इञ्चार्ज नारायण महत, मानव अधिकार तथा शान्ति समाजका पूर्व सभापति गोविन्द खनाल, सैनामैना नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष बुद्धीराम थारु र विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पोखरेल लगायतले विद्यालयलाई अझै उन्नती र प्रगतिको पथमा अघि बढाउनु पर्ने बिषयमा बोल्नुभएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल पोखरेलको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहको संचालन शिक्षक दुर्गा भुसालले गर्नुभएको थियो । विद्यालयले बार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम गरी विभिन्न अतिरिक्त कृयाकलाप आयोजना गरेको थियो ।




