चितवन प्रहरीले फेसबुकमा फेक अकाउन्ट बनाइ ब्ल्याक मेलिङ गरेको अभियोगमा रामपुरमा रहको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत तीनजना बिद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ।
चितवनकै रत्ननगर नगरपालिका १३ घर भएका २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका १ घर भएका १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका २९ का २२ वर्षीय अनुराग घिमिरेलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज पक्राउ गरेको हो ।



उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरि चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग फिरौती रकम मागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले बताए।
उनका अनुसार उनीहरुको भिडियो कल रेकर्ड र फिरौती रकम मागेको प्रवृत्ति हेर्दा समूहमा अरु पनि सहभागी हुनसक्ने आशंका रहेको छ। उनीहरुले कसैसँग दुई, कसैसँग चार लाख रुपियाँ रकम मागेका थिए।
उक्त रकम नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिएका फोन रेकर्ड रहेको कार्कीले जानकारी दिए। उनीहरु तीनै जनालाई कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरबाट प्रहरीले आज पक्राउ गरेको हो।
उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको डिएसपी पण्डितले जानकारी दिए।




