रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ काशीपुरमा रहेको बर्मदवाको सार्वजनिक जग्गा संरक्षण गर्न पहल थालिएको छ ।
बुधबार सैनामैना नगरपालिका वडा नं. १ का वडा अध्यक्ष भुवन क्षेत्री सहित पर्राेहा, ब्रम्हडाँडा र शंकर टोल विकास संस्थाका पदाधिकारी लगायत स्थानीय बासिन्दाले अतिक्रमणमा पर्न थालेको सार्वजनिक जग्गा संरक्षणका लागि स्थलगत अवलोकन गरेका छन ।
नदी किनारको तटीय क्षेत्रमा रहेको उक्त जग्गालाई कसरी उपयोग र संरक्षण गर्ने भन्ने बिषयमा सैनामैना नगरपालिका र स्थानीय वासिन्दाको सरसल्लाह र समन्वयमा गर्ने सहमति समेत भएको छ ।
सैनामैना नगरपालिका वडा नंं १ का वडा अध्यक्ष भुवन जिसीले अतिक्रमण हुन थालेको जग्गा संरक्षण गर्नु सवैको दायित्व र कर्तब्य भएको बताउँदै सवैको सल्लाहमै यसको ब्यवस्थापन गरिने बताउनु भयो ।




उता सैनामैना १ पर्रोहाका समाजसेवी रामनाथ हरिजनले पर्रोहा टोलविकास, ब्रम्हाडाँडा टोल विकास र शंकर टोल विकास संस्थाले बुधबार उक्त क्षेत्रको सरसफाई गरेको बताउँदै स्थानीय बासिन्दाले बर्षौदेखि उक्त क्षेत्रलाई शब दाहस्थलको रुपमा उपयोग गरेको बताउनु भयो । उहाँले आफ्ना बाबु बाजेले यही क्षेत्रलाई मसानघाटको रुपमा प्रयोग गरेकोले अहिलेपनि बर्महवालाई मसानघाट बनाउनु पर्ने बताउनु भयो ।
त्यसैगरी स्थानीय जीवन चौधरीले यो घाटलाई स्थानीयले स्वर्गद्वारी मद्रहवा घाट नामाकरण गरेको र समिति समेत गठन गरेर यसको व्यवस्थापन गर्न लागेको बताउनु भयो । यस क्षेत्रका स्थानीय बासिन्दाहरुले यही क्षेत्रलाई बर्षौ अघिदेखि शबदाह स्थलको रुपमा प्रयोग गर्दै आएकोले अव पनि यो क्षेत्रलाई शवदाह स्थलकै रुपमा आफूहरुले प्रयोग गर्न पाउनु पर्ने चौधरीको भनाई छ ।

काशीपुरका स्थानीय ढुनप्रसाद ढुंगानाले नदी किनारको यो जग्गा अतिक्रमणमा पर्न थालेकोले स्थानीय वासिन्दा लगायत सैनामैना वडा नं. १ का जनप्रतिनिधिको अग्रसरतामा संरक्षणको प्रयास गरिएको बताउँदै संरक्षणपछि यो क्षेत्रलाई कुन स्वरुपमा विकास गर्ने भन्ने कुरा सवैको सल्लाह र सहमतिमा हुनुपर्ने आफ्नो मान्यता रहेको धारणा राख्नुभयो ।
बुधबार सैनामैना नगरपालिकाका जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बासिन्दा र समाजसेवीहरुले उक्त जग्गाको स्थलगत अवलोकन गर्दै जग्गा संरक्षणपछि त्यहाँ बनाउने पूर्वाधार विकास सहमतिमै गर्ने प्रतिवद्धता गरिएको छ ।




