रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ११ तालीमा रहेको कोटियादेवी माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
बार्षिक उत्सव समारोहमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले प्रधानाध्यापकको प्रगति प्रतिवेदनले विद्यालयको बिषयमा धेरै कुरा स्पष्ट गरिसकेको बताउँदै सीमित साधन श्रोतका बाबजुत सामुदायिक विद्यालय चलाउन कठिन रहेको बताउनु भयो ।



उहाँले सामुदायिक बिद्यालयमा गरिव, विपन्न, सिमान्तकृत बर्गका बालबालिका अध्ययन गर्दै आएको बताउँदै यो विद्यालयले पछिल्लोसमय गरेको प्रगति यहाँको शैक्षिक गतिविधिले स्पष्ट गरेको बताउँदै विद्यालयले गरिरहेको मेहनतप्रति विद्यालय परिवारलाई धन्यबाद दिनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रवहादुर कार्कीले हाम्रो विद्यालय हामी आफै बनाउने हो भन्दै विद्यालयको शैक्षिक गुणस्तर विकासमा अभिभावकहरुको ठूलो जिम्मेवारी र दायित्व रहेको उल्लेख गर्नुभयो । उहाँले अभिभावकले चुनेका प्रतिनिधिको झनै ठूलो जिम्मेवारी रहेको बताउँदै एकले अर्कोले प्रतिष्पर्धी नसम्झेर अगाडी बढ्न सकेमात्र हामीले यस क्षेत्रको शिक्षाको विकासका साथै अरु सवै क्षेत्रको विकास गर्न सक्छौं भन्नुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुणाकर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल, शान्ति सामुदायिक वनका अध्यक्ष हिमलाल अर्याल, पर्रोहा परमेश्वर माध्यमिक बिद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरी, सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ पौडेल, विद्यार्थीहरु अभिशेक अर्याल र भूमिका अर्यालले समेत शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक रमेश भुसालले बिद्यालयको बार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा स्थानीय समाजसेवी शिक्षाप्रेमी देवीप्रसाद घिमिरेले ५५ हजार ५ सय ५५ रुपैयाँको निर्मला स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक पुनाराम घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा स्वागत शिक्षक हुमलाल घिमिरेले गर्नुभएको थियो ।




