रुपन्देहीको सैनामैनामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता तथा नगर खेलकुद सप्ताह २०८० हुने भएको छ । सैनामैना खेलकुद समितिको आयोजनामा माघ ४ गते विहिवारदेखि हुने प्रतियोगितामा सैनामैनाका ३० वटा विद्यालयका गरि करिव २५ सय विद्यार्थीले सहभागिता जनाउने भएका छन ।
सैनामैना खेलकुद समितिका संयोजक खिम श्रेष्ठले विहिवारदेखि हुने प्रतियोगिता विगतको भन्दा फरक तरिकाले आयोजना गर्न लागिएको बताउनु भयो । उहाँले प्रतियोगितामा सहभागी हुने विद्यालयहरु उदघाटनमा अनिवार्य मार्चपासमा सहभागी हुने बताउनु भयो । विगतमा भन्दा यसपटक खेलपनि थप भएको छ । जस अनुसार अन्तर विद्यालय फुटवल, क्रिकेट, कबड्डी प्रतियोगिता थप गरिएको संयोजकश्रेष्ठले जानकारी दिनुभयो ।




उता सैनामैना खेलकुद समितिका सदस्य अर्जुन पोखरेलले प्रतियोगिता अन्तरगत भलिवल खेल पर्रोहा माविको प्रांगणमा हुने तथा फुटवल खेल मुर्गियाकै खेल मैदानमा हुने जानकारी दिनुभयो । उहाँले क्रिकेट प्रतियोगिता भने बयरकट्टीस्थित क्रिकेट खेल मैदानमा हुने बताउँदै विगतमा कमी कमजोरीबाट समेत पाठ सिकेर अहिले खेललाई अझै परिस्कृत गराउने प्रतिवद्धता जनाउनु भयो ।

एक साता हुने प्रतियोगितामा फुटवल, भलिवल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो लगायतका खेल हुने खेलकुद समितिले जनाएको छ । संयोजक श्रेष्ठले प्रतियोगिताबाट १ सय ५० जना खेलाडीलाई जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म पठाउने तयारीका साथ खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको उल्लेख गर्नुभयो ।





