रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको रामापुर माध्यमिक विद्यालयको आयोजनामा प्रार्थना व्यवस्थापन र असल विद्यार्थी तथा अभिभावकत्व सम्बन्धि तीन दिने उत्प्रेरणा कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
बुधवार, विहिवार र शुक्रबार गरि तीन दिन भएको उत्प्रेरणा सम्वन्धि कार्यक्रमको समापनको अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले रामापुर माध्यमिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्नुको मूख्य कारण विद्यालय राम्रो हुँदै गएकोले नै हो भन्दै अभिभावक र विद्यार्थीको भावनालाई बुझेर शिक्षा प्रदान गर्न सकियो भने अहिले भएका विद्यार्थीको दुई गुना विद्यार्थी अझै बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले हामी आफ्नै गाउँघरमा रहेका विद्यालयबाट असल शिक्षा पाउन सक्छौं र विद्यार्थीलाई आकर्षित गर्न सक्छौं भन्ने कुरा यो कार्यक्रमले पुष्टी गरेको बताउनु भयो ।
रामापुर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पाण्डेले तीन दिने प्रशिक्षणले विद्यार्थीहरुलाई मात्र नभै अभिभावक, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीलाई पनि पुनर्ताजगी गराएको बताउनु भयो । उहाँले रामापुर माध्यमिक विद्यालय पछिल्लोसमय सैनामैनामै उत्कृष्ट विद्यालयको रुपमा अघि बढ्दै गरेको बताउँदै तर विद्यार्थीहरुमा अनुशासन भएन भने उत्कृष्ट नतिजा निरर्थक हुने भएको कुरा तिन दिने उत्प्रेरणा तालिमले सिकाएको उल्लेख गर्नुभयो । उहाँले यस प्रकारका तालिमले सवैलाई अनुशासनको पालना गर्न सिकाएको बताउनु भयो ।



कार्यक्रममा बोल्दै रामापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले तीन दिने प्रार्थना व्यवस्थापन तथा असल विद्याथी तथा अभिभावकत्व सम्वन्धि उत्प्रेरणा कार्यक्रमले शिक्षक, विद्यार्थी, अभिभावक सवैमा हौसला थपेको बताउनु भयो । उहाँले पहिलो अभिभावक भनेको बुबाआमा हो र दोश्रो अभिभावक शिक्षक हो भन्दै शिक्षकहरुले तीन दिने तालिममा देखाएको रुची र उत्साहले विद्यालयलाई नयाँ उर्जा प्राप्त भएको बताउनु भयो ।
प्रशिक्षक हरिश ओलीले तिन दिने उत्प्रेरणा तालिमको प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । तालिमका सहभागीहरुले यस प्रकारका तालिम अरु विद्यालयहरुका लागि पनि महत्वपूर्ण हुने औंल्याएका थिए । तालिमले शिक्षाका क्षेत्रमा गर्न सकिने अरु धेरै कुराको बिषयमा सिकाएको र सवैमा उत्साहका साथ जिम्मेवारी र कर्तब्य क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको सहभागीहरुले बताएका छन ।





