रुपन्देहीको कञ्चन गाउँपालिकामा साप्ताहिक बृहत योग शिविर शुरु भएको छ । कञ्चन गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा शुरु भएको योग शिविरमा टोल बिकास संस्था, आमा समूह र क्लवका प्रतिनीधिहरुलाई योगाभ्यास गराईएको छ ।
शिविरको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले योग शारीरिक अभ्यास मात्र नभई मनासिक, सामाजिक र सन्तुलित जिवनयापन गर्नका लागि अचुक औषधी भएको उल्लेख गर्नु भएको छ ।



दैनिक ब्यबहारमा स्वच्छतालाई ध्यान दिन सकियो र दैनिक बानी ब्यबहारमा परिवर्तन ल्याई पुर्णरुपमा स्वस्थकर बानी ब्यबहारको पालना गर्न सकियो भने जटिल रोगहरुको निराकरण हुने अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै योग प्रशिक्षक नविन अर्यालले योगलाई कुनैपनि अर्थमा धर्मसंग जोड्न नहुने बताउनु भयो । योग शारीरिक, मानसिक अनि सामाजिक रुपमा निरोगी, स्वस्थ, दीर्घ जिवनका लागि साझा अस्पतालको रुपमा योगलाई ग्रहण गर्नुपर्ने योग प्रशिक्षक अर्यालले बताउनु भयो ।
यसैगरी रुद्रपुर आयुर्वेद औषधालय, कञ्चन ३ का ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले योग र आयुर्वेदलाई जडिबुटीमा आधारित अस्पतालको रुपमा हेर्न संस्कारको बिकास गर्न जरुरी रहेको बताउनु भयो ।
वडा नं. ३ को कार्यालय परिसरमा भएको पहिलो चरणको योग शिविर यही माघ २७ गते सम्म संचालन हुने छ । शिविरमा योग प्रशिक्षकहरु नविन अर्याल, अनिल त्यागी मारुत, आनन्द प्रकाशले योग साधना र जिवनमा योगको महत्व तथा आवश्यकता बारे प्रवचन सहित योगका चरणबद्ध अभ्यासहरुबारे प्रशिक्षण दिनु हुने रुद्रपुर आयुर्वेद औषधालयका प्रमुख तथा बरिष्ठ कविराज निरीक्षक खिमानन्द खनालले जानकारी दिनुभएको छ ।




