सैनामैना नगरपालिका वडा नं. ७ को कार्यालयमा आईतवार गैडहवाका स्थानीयले तालाबन्दी गरेका छन ।
सैनामैना ७ र गैडहवा ९ को पहिलैदेखि सिमा विवादित जग्गामा गैडहवा गाउँपालिकाले नापी गर्न थालेपछि सैनामैना नगरपालिका वडा नं. ७ ले जग्गा नापी रोकेपछि गैडहवा गाउँपालिकाका स्थानीयले तालाबन्दी गरेका छन ।



गैडहवा ९ का स्थानीयको बसाई गैडहवामा तर मतदाता नामावली सैनामैनामा रहेका कारण जग्गा नापजाँच गर्दा सैनामैनाले छोडेको र गैडहवाका तर्फबाट नापी हुँदा सैनामैनाको विरोधका कारण नापी रोकिएपछि स्थानीयले आफूहरुको जग्गा नापी हुने अवस्था आएको भन्दै वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको गुनासो गरेका छन ।
गैडहवा ९ का स्थानीयले तालाबन्दी गरेपछि सैनामैना नगरपालिकाका प्रमुख र वडाका जनप्रतिनिधि र गैडहवाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरुले सहमतिको प्रयास गरेका छन ।
आईतवार भएको सहमति अनुसार मंगलवार जग्गा नापी स्थलमै गएर विवाद समाधानको प्रयास गर्ने सहमति भएको हो ।
यसअघि नै सैनामैना नगरपालिका वडा नं. ७ ले गत कार्तिक २३ गते राष्ट्रिय भूमि आयोग रुपन्देहीलाई समस्या समाधानका लागि सम्बोधन गरि पत्र पठाएको थियो ।
सो पत्रमा जिल्ला प्रशासन कार्यालय, सैनामैना नगरकार्यपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका १ र नापी कार्यालयलाई बोधार्थ सहित पत्राचार गरेपनि अहिलेसम्म समस्या समाधान गर्नेतर्फ सम्वन्धित निकायले चासो नदिएको कारण अन्तिममा आएर स्थानीयले तालाबन्दी गर्ने बाताबरण सिर्जना भएको हो ।
नेशनल जियो पोर्टल वेभसाईटमा विवादित उक्त क्षेत्र सैनामैना नगरपालिका वडा नं. ७ मा रहेको देखिएपनि गैडहवा गाउँपालिकाले भने उक्त क्षेत्र आफूहरुको वडा नंं ९ को क्षेत्रमा पर्ने भनि नापी सुरु गरेको थियो ।




