नेपाल औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० बमोजिम स्टार्टअप उद्यम मापदण्ड पूरा गरेको तथा तोकिएको क्षेत्रका नविनतम ज्ञान सोच सिप र क्षमता भएका स्टार्टअप कर्जा लिन इच्छुक उद्यमीहरुले तोकिएको निश्चित ढाँचामा परियोजना प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले नेपाल सरकारले स्टार्टअप उद्यम कर्जाका लागि कार्यविधि तयार गरेको र यो कार्यविधि अनुसार नेपाल सरकारले २५ लाख रुपियाँसम्म ३ प्रतिशत ब्याजमा कर्जा प्रवाहका लागि यो कार्यविधि तयार गरेको बताउनु भयो । उहाँले यो आर्थिक बर्षदेखि कर्जा प्रवाह गर्न सुरु गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले प्रस्ताव पेस गर्न आवश्यक पर्ने मापदण्ड, डकुमेण्ट र प्रस्ताव कहिलेसम्म बुझाउने लगायतका बिषयमा जानकारीमूलक सूचनाहरु प्रतिष्ठानको वेभसाईटमा राखिएको बताउँदै मूल्याँकनका आधारहरु सहितको कार्यविधीको विवरण राखिएको जानकारी दिनुभयो ।



कार्यविधिमा दुईलाखदेखि १० लाख चुक्ता पुँजी भएको उद्यमीले मात्र प्रस्ताव पेस गर्न सक्ने उल्लेख गरिएको छ । त्यसैगरी प्रस्ताव पेस गर्न आफू वा प्रतिनिधि जो भएपनि प्रतिष्ठानको कार्यालय काठमाण्डौं पुगे हुने कार्यालयले जनाएको छ ।
उता प्रतिष्ठानका कर्मचारी रमेश पोखरेलले कार्यविधिमा पहिले फार्म कलेक्सन गर्ने र त्यसपछि सर्टलिष्टिङ गरेपछि उद्यमीलाई प्रस्तुतीकरण गर्न लगाउने र सवै प्रकृया पूरा भएपछि बैंकलाई कर्जा प्रवाहका लागि सिफारिस गर्ने बताउनु भयो । निवेदकले फारम बुझाएर सर्टलिष्टमा परेपछिको थप प्रकृयाका बिषयमा जानकारी दिदै पोखरेल ।
विगतमा फारम बुझ्ने अनलाईन व्यवस्था गरिएपनि त्यसमा धेरै समस्या देखिएपछि यो बर्ष फारम बुझाउन काठमाण्डौं नै आउनुपर्ने भएको प्रतिष्ठानको भनाई छ ।
उता सूचना अधिकारी घिमिरेले छनौट भएका उद्यमीलाई अधिकतम २५ लाखसम्म कर्जा दिने र पहिलो किस्तामा ५ लाख रुपैया दिने बताउनु भयो । त्यसपछि बैंकले उद्यमीले गरेको कामको आधारमा मात्रै कर्जा थप गर्ने घिमिरेले जानकारी दिनुभयो ।




