रुपन्देहीको सैनामैना नगरका विभिन्न क्षेत्रमा राजस्व छली गरेर ल्याएका अवैध कुर्सीहरु विक्री गरिरहेको बेला बरामद गरि इलाका प्रहरी कार्यालय सालझण्डीमा बुझाइएको छ ।
सैनामैना उद्योग बाणिज्य संघ, सैनामैना व्यापार संघ र रुपन्देही व्यापार संघको सालझण्डी शाखाका साथै स्थानिय जनप्रतिनिधि दुुर्गामाया श्रेष्ठ र स्थानियहरूको सकृयतामा मंगलबार विहान सैनामैना ६ कलौनीबाट बरामद कुर्सीहरु ईप्रका सालझण्डीमा बुझाईएको हो ।



बरामद गरिएको कुर्सीको बिल बिजक नभएको, बनेको मिति नभएको, गुणस्तर चिन्ह खुल्ने कुनै छाप नभएको तथा कुन कम्पनीले बनाएको भन्ने समेत कतै उल्लेख नभएकोले अवैध ती कुर्सीहरु बरामद गरि प्रहरी कार्यालयमा बुझाइएको सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले भारतबाट नेपालमा विक्रीका लागि ल्याइएको भाँडाहरु समेत बरामद गरिएको र ती सामान प्रहरीको बुझाएको बताउनु भयो ।

सैनामैना ब्यापार संघका प्रथम उपाध्यक्ष दिपेन्द्र ढकालले मंगलवार विहान कुर्सी लगायतका भाँडाकुँडा विक्री गरिरहेको थाहा पाएपछि प्रहरी प्रशासनको रोहबरमा त्यस्ता अवैध सामान बरामद गरिएको बताउनु भयो । उहाँले अवैधरुपमा कारोबार गर्नेहरुलाई निरुत्साहित गर्ने र प्रमाणपत्र लिएरमात्र व्यापार गर्न पाउनुपर्छ भन्ने आफूहरुको माग रहेको बताउँदै गाउँ गाउँ र घर घरमा गएर व्यापार गर्ने अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने बताउनु भयो ।
यसैगरी उपभोक्ता हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतमले सैनामैनाका विभिन्न स्थानमा बिना बिल भरपाई, लेबल नभएका चीजहरु पक्राउ गरिएको बताउँदै ब्यापार गर्न पाईन्छ तर कर तिरेर र गुणस्तरीय बस्तुमात्र विक्री गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि बिल बिजक, कर तिरेको तथा गुणस्तर प्रमाणचिन्ह नभएकोले त्यस्ता बस्तुहरु विक्री गर्न नदिने बताउनु भयो ।
सैनामैनाका विभिन्न स्थानमा यसरी अवैधरुपमा भारतबाट आएका सामान निर्वाध विक्री भैरहेको बताउँदै व्यवसायीहरुले त्यसबाट बैधरुपमा ब्यापार गर्ने सैनामैनाका व्यवसायीहरु मर्कामा परेको बताएका छन ।




