नेपाल मगर महिला संघ सैनामैना नगर समितिको आयोजनामा शनिवार सैनामैनाको सालझण्डीमा बृहद रक्तदान गरिएको छ । ४२ औं नेपाल मगर संघको स्थापना दिवसको अवसरमा सैनामैना १० पशुपति माविको प्रांगणमा आयोजना गरिएको रक्तदानमा ७० यु्निट रगत संकलन भएको थियो ।
त्यसैगरी मगर संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मगर संघको स्थापना दिवसमा नाचगान, खेलकुद र अरु बौद्धिक प्रतियागितामात्र नभै कला संस्कृति, परम्परा र रीतिरिवाजदेखि लिएर मगर संघको इतिहास र नेपालको लोकतान्त्रिक आन्दोलनमा मगरहरुको भूमिकाका बिषयमा जान्न र बुझ्न सहयोग पुगेको बताउनु भयो ।



कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले मगर समुदायको चाडबाड, संस्कृति, भेषभुषा, रहनसहनलाई निरन्तरता दिन र संस्कृति जोगाईराख्न यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल मगर संघ सैनामैनाका उपाध्यक्ष प्रेमबहादुर सोमरेले मगर दिवस मनाउनुको उद्देश्यका बिषयमा बताउँदै मगर जातिको इतिहास, कला संस्कृतिका बिषयमा बुझाउने र सचेतनाका कार्यक्रम गर्ने उद्देश्य रहेको बताउदै मगरहरुको पहिचान, संस्कृति र भेषभुषालाई पुस्तान्तरण गर्दै जाने उल्लेख गर्नुभयो । उहाँले मगर संघको स्थापना दिवस जस्ता कार्यक्रमले मगर समुदायको विकासमा समेत सहयोग पुग्ने बताउनु भयो ।
मगर स्थापना दिवसको अवसरमा तेक्वान्दो, बक्तृत्वकला र भलिवल प्रतियोगिता सुरु भएको छ । फागुन १५ गतेसम्म हुने स्थापना दिवस कार्यक्रममा अरु धेरै खेलहरु समेत समावेश गरिएको छ ।
मगर संघका अग्रज मोतिप्रसाद रानाको स्वागतमा भएको कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, वडा नं. ३ का अध्यक्ष तमबहादुर पुर्जा, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका प्राचार्य हेमबहादुर थापा लगायतले बोल्नुभएको थियो ।




