रुपन्देहीको सैनामैना—१ मा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले भव्यरुपमा स्वर्ण महोत्सव मनाएको छ । २०३१ सालमा स्थापना भएको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रम सहित स्वर्ण जयन्ती मनाएको हो । फागुन ३ गतेदेखि सुरु भएको स्वर्ण महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री एव उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले संघीय सरकारको नमुना विकासमा सुचिकृत विद्यालय सैनामैना पर्रोहा परमेश्वर नमुना माविले देशमै उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरुको शैक्षिक सुधार तथा भौतिक पूर्वधार विकासमा प्राप्त गरेको सफलताको प्रशंसा गर्नुभयो ।
पछिल्लोसमय रुपन्देहीका सामुदायिक विद्यालयले अब्बल नतिजा दिदैँ शिक्षा विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै पौडेलले विद्यालयको आवश्यक भौतिक पूर्वधारको विकासमा कमी हुन नदिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।




कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले देशमै सैनामैनालाई शैक्षिक विकासको नगर भनेर परिचित गराउन सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको भुमिका महत्वपूर्ण बताउनुभयो । उहाँले शिक्षाको विकासमा नगरपालिकाको ध्यान केन्द्रित रहेकाले वार्षिक बजेटमा शिक्षामा ठूलो लगानी गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले आजका बालबालिकालाई विज्ञान र प्रविधिसँग जोडदै समयानुकूल प्रविधिमैत्री शिक्षा प्रदान गर्दै शैक्षिक र भौतिक विकासमा अगाडी बढदै आएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले विद्यालयले समाज र बदलिँदो युग अनुसार समावेशी वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयले हासिल गरेको शैक्षिक उपलब्धि विद्यार्थी, अभिभावक र शिक्षक, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिको साथ सहयोगले सम्भव भएकाले थप शैक्षिक योजनामा सहकार्य आवश्यक रहेको बताउनुभयो ।
स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलापका विजयी, विद्यार्थीहरुलाई पुरस्कार, उत्कृष्ट शिक्षक तथा कर्मचारी पुरस्कार तथा सम्मान गरिएको थियो भने विद्यालय स्थापनादेखि हलसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याएका व्यक्तित्वहरु तथा चन्दादाताहरुलाई कदर—पत्रले सम्मान गरिएको थियो ।




