रुपन्देहीको कञ्चन गाउँपालिकामा बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउनु पूर्व बृहद अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । जस अनुसार बिहिबार पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीको अवसरमा बोल्दै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनमा सुरु हुने खोप अभियानमा कुनैपनि बालबालिका खोपबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले पूर्व तयारी तथा सचेतनामूलक कार्यक्रम गरिएको बताउनु भयो ।




कञ्चनका बालबालिकालाई खोप लगाउने लक्ष्यसाथ फागुन २० गतेदेखि २४ गनेसम्म लगाइने खोप अभियानमा १४ हजार पाँचसय बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले कञ्चनका ३२ वटा केन्द्रबाट एक साथ खोप लगाईने बताउनु भयो । अन्तरक्रियामा कञ्चन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीको सहभागिता रहेको थियो । पालिकाले यसअघि पनि सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको थियो ।




