प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गर्नुभएको छ । सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘आजको दिन विशेष दिन । नयाँ उथलपुथल भएको दिन पनि बन्यो । यो सानो कुरा होइन ठुलो कुरा हो । क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणप्रति संकेत गर्दै म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ भन्नुभयो ।



उहाँले माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको पनि दावी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो –‘निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन माओवादी । नयाँनयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी ।
यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्ताले हानेर निस्कने दावी गर्नुभयो । कार्यक्रमकै अवसरमा शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूलाई कतिपयले अविश्वसनीय भने पनि आफू त्यस्तो नभएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो – मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक, घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु ।




