सैनामैना नगरपालिका वडा नंं ६ कलौनी रुपन्देहीमा रहेको रामापुर माध्यमिक विद्यालयमा शुक्रवार बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेका हुन । त्यस अवसरमा बोल्दै प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बिद्यालयबाट अध्ययन सकेत विदाई भएका विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिनुभएको थियो ।



उहाँले विद्यालयमा थप भौतिक पूर्वाधार निर्माण गर्दै विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट गन्तब्य बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । विदाई कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोखरेल र विद्यालयका प्राचार्य कृष्ण पौडेलले नयाँ बर्षको पूर्व सन्ध्यामा विदाई हुँदै गरेका विद्यार्थीहरुलाई शुभकामना दिदै आगामी दिनको शैक्षिक प्रगतिको समेत शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा विदाई हुँदै गरेका विद्यार्थीहरुलाई प्रमुख अतिथी र विशिष्ट अतिथि तथा वडा अध्यक्षले खादा र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कक्षा ११ का विद्यार्थी दिपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिपेश पछाई र अप्सना रसाईलीले गर्नुभएको थियो भने कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।




