रुपन्देहीको सैनामैना १० सालझण्डीका सर्प उद्धारकर्ता चेतबहादुर सारु ( कान्छा सारु)ले निःशूल्क झुल वितरण गर्नुभएको छ ।
सर्पको उद्धार गर्दै आउनु भएका कान्छा सारुले समुदायमा पुगेर जनचेतना फैलाउँदै गरिब तथा बिपन्न परिवारलाई प्रत्यक वर्ष झुल वितरण गर्दै आउनु भएको छ ।



सालझण्डी पानबारीका गरिब तथा बिपन्न परिवारलाई सर्पदेखि बच्ने उपायसहित उहाँले झुल वितरण गर्नुभएको हो । लामखुट्टेदेखि सर्पको डसाईबाट बच्नको लागि सुत्ने बेलामा झुलको प्रयोग गर्न सारु कान्छाको सुझाँब रहेको छ ।
गर्मी बढेसँगै तराईमा सर्पको बिगविगी सुरु भएको बताउँदै उहाँले घरवरपर सरसफाईदेखि राती सुत्ने बेलामा झुलको प्रयोग गर्न सके सर्पको डसाईबाट बच्न सकिने बताउनुभयो । उहाँले ९७ घरधुरीलाई १५० पिस झुल वितरण गर्नुभएको हो । सैनामैनाका समाजसेवी गगन श्रेष्ठबाट २०, शिव श्रेष्ठबाट ५० र आफ्नो ८० पिस गरी १५० वटा झुल वितरण गरिएको सारु कान्छाले जानकारी दिनुभयो ।
सर्पले वातावरणमा संरक्षणमा दिएको योगदानको विषयमा जानकारी दिँदै सर्पउद्धार कर्ता सारु कान्छाले गोबन, बाघे, गनग्वारी र घोरघोराईज जातका सर्पबाट बच्ने उपाय र डस्दा देखिने लक्षणको बारेमा जानकारी गरानु भएको थियो । सारु कान्छालाई सर्प उद्धारकै क्रममा २ वर्ष अघि गोमन सर्पले डसेको थियो ।
उहाँलाई यस्तो जोखिमको काम नगर्न घर परिवारबाट पनि दबाब आएको छ । तर, सारु कान्छामा सर्प उद्धार गर्ने, समुदायलाई सहयोग गर्ने र गरिब तथा निमुखा जनताको सेवामा लागिरहनु भएको छ । स्थानीय सुनिता नेपालीले सारु कान्छाबाट झुलसँगै सर्पबाट बच्ने उपायको बारेमा जानकारी प्राप्त भएको बताउनुभयो ।
घर वरपर सरसफाईसँगै झुलको प्रयोगबाट लामखुट्टेदेखि सर्पको डसाईबाट बच्न सकिने उपायको बारेमा थाहा भएको बताउनुभयो ।




