रुपन्देहीको सैनामैना नगरपालिका ६ भरतपुर कुटीकी चार बर्षीय बालिका प्रियसा ठाडा मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
विहिबार साँझ करिव ७ बजे प्रियसा आफ्नै अन्टीसंग नजिकै रहेको किराना पसल टंकीमा सामान लिन गएकी थिइन । किराना पसलमा रहेको फ्रिजमा छुँदा करेन्ट सर्ट भएर प्रियसाको मृत्यु भएको स्थानीयले बताएका छन ।
मृतक बालिकाकी आमा रमा ठाडा मगरले किराना पसलको लापरवाहीले आफ्नी छोरीको मृत्यु भएकोले क्षतिपूर्तिको माग गरेकी छिन । उनेले यसअघि पनि किराना दुकानको फ्रिजबाट करेन्ट लागेर एक दुईजना घाईते भएको सुनेको बताउँदै दुकानका संचालकको लापरवाहीले आफुले छोरी गुमाएकोले क्षतिपूर्ति नलिएसम्म लास नउठाउने उल्लेख गरिन ।
भरतपुरमा रहेको उक्त टंकीका कारण विगतमा समेत समस्या आएको स्थानीयले बताएका छन । टंकीकै कारण मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने, कुटपिट गर्ने जस्ता घटना बिगतमा पनि हुने गरेको भन्दै स्थानीयले सार्वजनिक स्थानमा राखिएको टंकी हटाउन सैनामैना नगरपालिकासंग माग गरेपनि कुनै सुनुवाई नभएको बताएका छन । स्थानीय रमेशबहादुर सुनाले टंकीका कारण धेरै विवाद उत्पन्न हुँदै आएकोले गाउँलेहरुले टंकी हटाउन माग गरेको तर सुनुवाई नभएको बताउनुभयो ।



प्रियसा केही दिनअघि स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन । किराना दुकान पनि जनकल्याण माध्यमिक विद्यालयका शिक्षक दानबहादुर सुनारको हो ।
पछिल्लोसमय बिद्युत सर्ट भएर आगलागी हुने र त्यसका कारण मानवीय क्षतिका घटना बढ्दै गएका छन ।




