बुटवल उपमहानगरपालिकाले दुध प्रवद्र्धन कार्यक्रम अन्तरगत पशुपालक किसानलाई पाडी वितरण शुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई ५० प्रतिशत अनुदानमा भैसीका पाडी वितरण शुरु गरेको हो।
जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरेको छ। एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुध उत्पादनमा सबल बनाउनका लागि भैसीका पाडी वितरण गरिएको बताउनुभयो । उहाँले वितरण गरिएका पाडीहरुको बीमा गरी किसानलाई उपलब्ध गराइएको बताउनुभयो ।



आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी सोमबार वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् ।
बुटवलले यसअघि किसानलाई दुध र दुधजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्थालाई मिल्क चिलिङ भ्याट खरिदमा अनुदान दिइएको हो। मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेशन युनिट, कन्ट्रोलप्यानल सहितको मेसिन उपलब्ध गराइएको हो।
पशुपंक्षी विकास अधिकृत बञ्जाडेले गाईभैसी गोठ सुधार तर्फ २८ जनालाई अनुदान प्रदान गरिएको उहाँले बताउनुभयो ।
गाई भैंसी गोठ सुधार, बाख्रा कुखुरा खोर सुधार, मासु पसल, माछा पोखरी तथा बुङुर खोर सुधार तर्फ अनुदान दिएको उहाँको भनाई छ ।




