सैनामैना नगरपालिका वडा नंं २ मा रहेको न्यू एकेडेमी बोर्डिङ स्कुलले लुम्बिनी प्रदेशमा आफूहरुले मात्र सत प्रतिशत नतिजा दिन सफल भएको दावी गरेको छ ।
विद्यालयले आईतवार आयोजना गरेको विद्यार्थी बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा चार जिपिए ल्याएका विद्यालयले समेत सवै बिद्यार्थी उत्तिर्ण गराउन सफल नभएको बताउँदै आफूहरुले भने सत प्रतिशत विद्यार्थी पास गराएर उत्कृष्ट नतिजा दिन सफल भएको दावी गरेको हो ।
स्कुलका प्रिन्सिपल टोपलाल भट्टराईले न्यू एकेडेमी बोर्डिङ स्कुलबाट ३७ जना परिक्षार्थीले एसईई परिक्षा दिएकोमा सवै परिक्षार्थी राम्रो अंकका साथ उत्तिर्ण भएको बताउनुभयो ।
उहाँले आफूहरु सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर सैनामैनामा मात्रै होइन लुम्बिनी प्रदेशमै प्रथम भएको दावी गर्दै लुम्बिनी प्रदेशका संस्थागत र सामुदायिक कुनैपनि विद्यालयले सत प्रतिशत नतिजा दिन नसकेको बताउँदै सतप्रतिशत नतिजा दिने आफ्नो स्कुल मात्रै भएको दावी गर्नुभयो ।
कार्यक्रममा उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको सम्पूर्ण विद्यालयको नतिजा हेर्दा कहीँ उत्साहित र कहीँ दुःखी हुनुपर्ने अवस्था र कहीँ भने निरुत्साहित हुनुपर्ने अवस्था रहेको बताउँदै सामुदायिक र संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीहरुमा सेवा र सुविधाको हिसाबले कुनै फरक नरहेको बताउनु भयो । उहाँले अव सामुदायिक र संस्थागत विद्यालयबीच फरक के छ भन्ने कुरा अव छुट्याउने बेला आएको बताउनुभयो ।
नगर प्रमुख शर्माले सैनामैनाको सामुदायिक विद्यालयको नतिजा शुन्य भएकोमा दुःख लागेको बताउँदै शून्य नतिजा आउनुको पछी जिम्मेवार को हो भन्ने खोजी गर्नुपर्ने बेला आएको बताउनुभयो ।



न्यू एकेडेमी बोर्डिङ स्कुलका अध्यक्ष मिनप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, दिप बोर्डिङ स्कुल बुटवलका प्रिन्सिपल टिकाराम न्यौपाने लगायतले विद्यालयको नतिजाले खुसी बनाएको बताउँदै विद्यार्थीहरुको सुखद भविष्यको कामना गर्नुभएको थियो ।




