३० औ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । नेपालका विभिन्न स्थानमा दिवसको अवसरमा कार्यक्रम भएका छन । रुपन्देहीको सैनामैनामा पनि आदिवासी जनजाति महासंघ सैनामैना नगर समन्वय परिषदको आयोजनामा दिवस मनाइएको छ ।
सैनामैनाको मुर्गियामा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले जबसम्म आदिवासी जनजातिहरुको अधिकार जल, जंगल र जमिनसम्म पुग्न सक्दैन तबसम्म आदिवासी जनजातिहरुको अधिकार प्राप्त हुन सक्दैन भन्नुभयो । उहाँले दिवसकै अवसरमा जल, जंगल र जमिनमा आदिवासीहरुको पहुँच छ कि छैन भन्ने कुरामा अब छलफल गर्नु जरुरी रहेको कुरामा जोड दिनुभयो ।
आदिवासी जनजाति महासंघ सैनामैना नगर समन्वय परिषदका अध्यक्ष रामकृपाल चौधरीले जबसम्म आदिवासी जनजातिहरु एकताबद्ध हुँदैनौं, तबसम्म अधिकार प्राप्त हुन सक्दैन भन्दै आदिवासी जनजातिहरु अगाडी बढ्ने हो भने एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको संविधानले आदिवासी जनजातिको अधिकारहरु सुनिश्चित गरेको भएपनि जबसम्म ब्यवहारमा लागू हुँदैन तबसम्म आदिवासीहरुले साँचो अर्थमा अधिकार प्राप्त गर्न नसक्ने भएकोले सवै आदिवासी जनजाति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।



कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै आदिवासी जनजाति महासंघ सैनामैना नगर समन्वय परिषदकी उपाध्यक्ष दुर्गामाया श्रेष्ठले सैनामैनामा रहेका आदिवासी जनजातिहरुको धर्म, संस्कृति, रीतिरिवाज, परम्परा जगेर्ना गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो अधिकारको कुरा गर्दा अर्को जातजातिको अधिकारको पनि सम्मान गर्दै सवै जातजाति मिलेर नै सैनामैनाको सान बढाउनुपर्ने बताउनु भयो ।
आदिवासी जनजाति समन्वय परिषद सैनामैनाका सचिव चेतप्रसाद श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नेवा देय दबु सैनामैनाका अध्यक्ष देवीप्रसाद श्रेष्ठ, समाजसेवी मनकुमारी राई, मानसिंह गुरुङ, मगर संघका काबा अअध्यक्ष बिष्णु सर्तुङगे, थारु कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारु, सैनामैना नडा नंं ३ का वडा अध्यक्ष तमबहादुर पुर्जा, नेपाल आदिवासी जनजाति सैनामैना नगर परिषदका सल्लाहकार सूर्यविक्रम राना, सैनामैना नगरपालिका महिला शाखा प्रमुख तुलसी ज्ञवाली, थाकसका केन्द्रिय पार्षद खुसीराम चौधरी, आदिवासी जनजाति लोकतान्त्रिकका केन्द्रिय सदस्य पवित्रा श्रेष्ठ, नेपाल आदिवासी समन्वय परिषद रुपन्देहीका कोषाध्यक्ष दिपकप्रसाद श्रेष्ठ, नेपाल मगर संघका प्रदेश सचिव संजीव थापा लगायतले आदिवासी जनजातिको अधिकारका बिषयमा बोल्नुभएको थियो ।




