सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयको १२ औं बार्षिकोत्सव तथा १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्व सन्ध्यामा आईतबार लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयले सैनामैनाको वडा नंं १० मा रहेको कपडा बैंकलाई सिलाई गरि तयारी अवस्थाका कपडा प्रदान गरेको छ ।
लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयमा विभिन्न संघसंस्थाबाट सहयोग भएर सिलाई गरिएका कपडाहरु कपडा बैंकलाई प्रदान गरिएको हो । तिनाउ सामुदायिक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारीले दिदी बहिनीहरुले सिलाई गरेका कपडाहरु कपडा बैंकमा राखेपछि यसको पूर्णरुपमा सदुपयोग हुने विश्वास गरेको बताउनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो वडामा रहेको कपडा बैंकमा सैनामैनाका दिदी बहिनीहरुले सिलाएर तयार गरेका कपडाहरु ल्याएर दिएकोमा लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयलाई धन्यबाद दिनुभयो । उहाँले म बनाउँछु मेरा वडा अभियान अन्तरगत सुरुमा ५० हजार रुपैया जम्मा गरेर सामाजिक अभियानको सुरुवात गरेको बताउँदै सैनामैनामा रहेका सामाजिक संघ संस्थाहरुसंग समन्वय गरेर कपडा बैंकको ड्र बक्स तयारी गरिएको जानकारी दिनुभयो ।



सैनामैना नगरपालिका र लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयले यही भदौ १४ गते शुक्रवार १२ औं बार्षिकोत्सव तथा १७ औं राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाउँदैछ । १३ गते विहिबार बक्तृत्वकला प्रतियोगिता समेत संचालन हुने भएको छ ।




